काठमाडौं । भारतीय बजारमा कार बिक्रीले नयाँ उचाई भेट्टाएको छ । त्यसमा सुजुकी, टाटा र हुन्डाईले बिक्रीमा रेकर्ड बनाएका छन् ।
यी कम्पनीले २०२३ मा भारतीय बजारमा अहिलेसम्म कै धेरै कार बिक्री गर्न सफल भएका हुन् । सुजुकीले पहिलो पटक एकै वर्षमा २० लाखभन्दा बढी यूनिट कार बिक्री गर्न सफल भएको हो ।
सुजुकीले भारतमा सन् २०२३ मा २० लाख ६६ हजार २१९ यूनिट कार बिक्री गरेर रेकर्ड बनाएको हो । यो बिक्रीसँगै सुजुकी भारतमा सबैभन्दा धेरै मार्केट सेयर निरन्तर कायम गर्न सफल भएको छ । कम्पनीको भारतमा ४२ प्रतिशत हाराहारी बजार हिस्सा छ ।
भारतमा दोस्रो ठूलो बजार हिस्सा भएको हुन्डाईले ६ लाख २ हजार १११ यूनिट कार बिक्री गरेको छ । संख्यात्मक हिसावले हुन्डाईले अहिलेसम्म कै धेरै यूनिट कार बिक्री गर्न सफल भएको हो । साथै, भारतमा उत्पादन गरेर १ लाख ६३ हजार ६७५ यूनिट कार हुन्डाईले निर्यात पनि गरेको छ ।
त्यसैगरी भारतीय ब्राण्ड टाटाले आफुलाई तेस्रो स्थानमा बलियो बनाउने क्रममा बिक्रीमा नयाँ रेकर्ड बनाउन सफल भएको छ । कम्पनीले अहिलेसम्म कै धेरै कार बिक्री गर्ने क्रममा ५ लाख ५३ हजार यूनिट बिक्री गरेको हो ।

