काठमाडौं । हुन्डाईले अघिल्लो महिना भारतमा बिक्री सुरु गरेको क्रेटा फेसलिफ्टले आफ्नो ८ वर्षभन्दा लामो अवधिमा सर्वाधिक बिक्रीको रेकर्ड बनायो । कम्पनीले एक महिनामै सर्वाधिक बिक्री गर्ने क्रममा फेब्रुअरी महिनामा १५ हजार २७६ यूनिट बिक्री गरेको हो ।
पेट्रोल, डिजेल र टर्बो पेट्रोल इन्जिनमा उपलब्ध नयाँ क्रेटाको एक्सटेरियर र इन्टेरियर दुबैमा व्यापक परिवर्तन भएर आएको छ । कम्पनीले आफ्नो सफल मोडलको बुकिङ भारतमा ६० हजार यूनिटभन्दा बढी रहेको जनाएको थियो ।

हुन्डाइले पहिलो पटक लेभल २ एडास (एड्भान्स ड्राइभर एसिस्टेन्स सिस्टम) फिचर दिएर ल्याएको छ । एडासको साथ १९ वटा एसिस्ट र सेफ्टी फिचर उपलब्ध गराएको कारण यसलाई धेरैले मन पराएका हुन् ।
क्रेटाको सफलता कै कारण कम्पनीले अप्रिल ११ तारिखमा एन लाइन भेरियन्ट पनि बजारमा ल्याउने भएको छ । १०.२५ इन्चका दुई स्कृन, ६ वटा एयरव्याग, आवाजबाटै संचालन गर्न सकिने पानारोमीक सनरुफ, भ्यान्टिलेटेड सिट जस्ता फिचर दिइएको छ ।
आगामी मे महिनासम्म नेपाली बजारमा पनि उपलब्ध हुने बताइएको फेसलिफ्ट क्रेटा धेरैको प्रतिक्षित मोडल हो । सम्भवत नेपाली बजारमा यसअघि उपलब्ध रहेको १.५ लिटर डिजेल र पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ ।


