काठमाडौं । नेपालमा विद्युतीय कारको चर्चा सन् २०१८ बाट तिब्र गतिमा भएको हो । विद्युतीय कारको प्रयोग बढ्दै गएसँगै कार आयात गर्ने ब्राण्डको संख्या पनि बढ्दै गयो ।
अहिले बजारमा एक दर्जन ब्राण्डले आफ्नो ईभी उपलब्ध गराएका छन् । यी ब्राण्डहरुका करिब दुई दर्जन मोडल नेपाली बजारमा उपलब्ध रहेका छन् ।
सन् २०११ मा महिन्द्राले इटुओ प्लस मोडल ल्याएको थियो । त्यसपछि २०१६ मा कियाले सोल ईभी र सन् २०१७ मा बीवाइडीले ई-६ मोडलसहित नेपाल प्रबेश गरेको थियो । सन् २०१८ मा हुन्डाईले विद्युतीय कार कोना नेपाल ल्यायो । त्यसपछि २०१९ मा एमजी र २०२० मा दाय ब्राण्डको ईभी नेपाल आयो ।
सन् २०२१ मा टाटाको नेक्सन ईभी नेपाल आयो । नेक्सन ईभीको सफलतापछि विश्व बजारमा रहेका इलेक्ट्रीक कार उत्पादन गर्ने ब्राण्ड नेपाल ल्याउन प्रतिस्पर्धा नै सुरु भयो । २०२२ मै निसानले लिफ नेपाल ल्याएको हो ।
अहिले चिनियाँ ब्राण्डको चर्चा जहाँ त्यहि सुरु भएको छ । चीनबाट ब्राण्डहरु ल्याउने लहर नै चलेको छ । देशकै सबैभन्दा ठूलो ब्यवसायीक घराना चौधरी ग्रुपले सन् २०२२ को अन्तिममा होजोन मोटरको उत्पादन नेटा भी लिएर अटोमोवाइल ब्यवसायमा आफुलाई प्रबेश गरायो ।

अहिले चौधरी ग्रुपको सिजी मोटर्ससँग होजोन, जीएसी एवोन, किङलङ, केवाइसी, स्मार्ट जस्ता आधा दर्जन ब्राण्ड छन् । कम्पनीले किङलङ र केवाइसी ब्राण्डका माइक्रो भ्यान बिक्री गर्दै आएको छ भने अन्य सबै कार ब्राण्ड हुन् ।
ग्रेटवाल मोटर्सको ओरा, फोङफेङ मोटर्सको सेरेस, चेरीको ओमोडा, चांगनको दिपल जस्ता चिनियाँ ब्राण्ड नेपाल आइसकेका छन् ।
कति मोडल पाइन्छ किन्न ?
अहिले सबैभन्दा महंगो विद्युतीय कार बीएमडब्लू आई-३, टेस्ला मोडल वाई र मोडल थ्री, अउडी इट्रोन, बीवाइडी सिल, किया ईभी सिक्स र हुन्डाई आयोनीक ५ नेपालमा किन्न पाइन्छ । यी सबै कारको मूल्य १ करोडदेखि २ करोड ३० लाखसम्म छ ।
त्यसैगरी, ५० लाखदेखि १ करोड मूल्यमा बीवाइडी एटो-३, सेरेस-३, एमजी जेडएस ईभी, हुन्डाई कोना, ओमोडा ई-५, दिपल एस-७ जस्ता मोडल उपलब्ध छन् ।

५० लाखभन्दा कम मूल्यमा उपलब्ध बीवाइडी डल्फीन, टाटा नेक्सन, एमजी-४, ओरा गुडक्याट, सिट्रोन सी-थ्री इलेक्ट्रीक, नेटा भी, टाटा टियागो, टाटा टिगोर जस्ता मोडल बजारमा किन्न पाइन्छ ।
मिनी कारको रुपमा एमजी कोमेट, हेनेरी, विलिङ एयर र सेरेस ई-१ मोडल छन् । यी कार १३ लाखदेखि २५ लाख रुपैयाँसम्ममा किन्न सकिन्छ । साना कारको बिक्री पनि बजारमा राम्रै संख्यामा हुँदै आएको छ ।
तीन ब्राण्डको दबदबा
अहिले विद्युतीय कार बिक्रीको हिसावले बीवाइडी, टाटा र एमजीको दबदबा देखिन्छ । यी तीनवटै ब्राण्डसँग मोडल पनि धेरै छन् । अहिले तीनवटै ब्राण्डसँग चल्तीका ३/३ मोडल छन् ।

बीवाइडीसँग एटो-३, डल्फीन र सिल, टाटासँग नेक्सन, टिगोर र टियागो तथा एमजीसँग जेडएस ईभी, एमजी-४ र कोमेट ईभी उपलब्ध छ ।


