काठमाडौं । भारतमा टोयोटाको बिक्रीले नयाँ रेकर्ड बनाइरहेको छ । जनवरीमा पहिलो पटक एक महिनामै २४ हजार यूनिट कार बिक्री गरेको टोयोटाले फेब्रुअरीमा २५ हजार यूनिट बिक्रीको रेकर्ड बनाएको हो ।
भारतीय बजारमा सुजुकीसँगको सहकार्यसँगै टोयोटाको बजार हिस्सा बढ्दै गएको देखिन्छ । अहिलेसम्म सार्वजनिक भएको बिक्री तथ्यांक अनुसार टोयोटा भारतमा ५ औं ठूलो ब्राण्ड हो ।
फेब्रअरीमा सबैभन्दा धेरै कार मारुती सुजुकीले बिक्री गरेको छ । कम्पनीले एक महिनामा १ लाख ६८ हजार ५४४ यूनिट भारतमा बिक्री गरेको छ । साथै, कम्पनीले एक महिनामा २८ हजार ९२७ यूनिट निर्यात गर्दै भारतको सबैभन्दा ठूलो बजार हिस्सा आफ्नो नाममा लेखाएको छ । कम्पनीले कुल १ लाख ९७ हजार ४७१ यूनिट बिक्री गरेको हो ।
भारतीय बजारको स्थानिय बजार बिक्रीमा टाटा दोस्रो स्थानमा उक्लेको छ । टाटाले ५१ हजार ६७ यूनिट भारतमा बिक्री गर्दा निर्यात भने २५४ यूनिट मात्रै गरेको छ । कम्पनीको कुल होलसेल बिक्री ५१ हजार ३२१ यूनिट बिक्री गरेको छ ।
भारतमा उत्पादन गरेर होलसेल बिक्रीको आधारमा तेस्रो स्थानमा रहेको हुन्डाईले भारतीय बजारमा भने ५० हजार २०१ यूनिट कार बिक्री गरेको हो । कम्पनीको भारतमा बिक्री टाटाभन्दा झण्डै ९ सय यूनिट पछाडि छ । भारतबाट हुन्डाईले १० हजार ३०० यूनिट निर्यात गरेको हो । कम्पनीले फेब्रुअरीमा ६० हजार ५०१ यूनिट होलसेल बिक्री गरेको हो ।
हुन्डाई र टाटालाई पच्छाई रहेको महिन्द्राले भारतमा ४२ हजार ४०१ यूनिट एसयूभी बिक्री गर्दा भारतबाट १ हजार ५३९ यूनिट निर्यात गरेको छ । कम्पनीले फेब्रुअरीमा ४३ हजार ९४० युनिट बिक्री गरेको हो ।


