नेपालमा भोलि लन्च हुँदै रोयल इनफिल्ड क्लासिक ३५० ‘गोर्खा एडिसन’

काठमाडौं । नेपाली बजारमा रोयल इन्फिल्डले क्लासिक ३५० मोटरसाइकलको नयाँ ‘गोर्खा एडिसन’ भोलि (बिहीबार) सार्वजनिक हुने भएको छ ।

नेपालका लागि रोयल इनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ्सले क्लासिक ३५० को विशेष गोर्खा एडिसन बिक्री सुरु गर्ने भएको हो ।

यो मोटरसाइकल भारतमा मंगलबार मात्रै लन्च भएको थियो । नयाँ गोर्खा एडिसनमा नियमित क्लासिक ३५० को तुलनामा ठूलो डिजाइन परिवर्तन गरिएको छैन । यसको बडी प्यानल, साइकल पाट्र्स, उपकरण तथा समग्र डिजाइन नियमित मोडल जस्तै छ । विशेष संस्करणलाई मुख्यतः नयाँ कलर र गोर्खा एडिसनका लागि तयार पारिएका ग्राफिक्समार्फत फरक बनाइएको छ ।

गोर्खा एडिसनको सबैभन्दा ठूलो आकर्षण यसको नयाँ लाइट मिलिटरी (ओलिभ) ग्रीन कलर हो । सैनिक सवारीसाधनमा देखिने हरियो रंगसँग मिल्दोजुल्दो यो कलरले मोटरसाइकललाई विशेष सैन्य लुक प्रदान गरेको छ ।

यो रंग गोर्खा रेजिमेन्टसँग जोडिएको पहिचानलाई समेत झल्काउने गरी तयार पारिएको देखिन्छ । यसका साथै साइड प्यानलमा गोर्खा एडिसन विशेष ग्राफिक्स र क्रस्ड खुकुरीको मोटिफ सहित गोर्खा एडिसनको ब्रान्डिङ राखिएको छ ।

गोर्खा एडिसनमा नियमित क्लासिक ३५० कै ३४९ सीसी, सिंगल सिलिण्डर, एयर र आयल कुल्ड, जे सिरिज इन्जिन प्रयोग भएको छ । यस इन्जिनले २०.२ बीएचपी पावर र २७ एनएम टर्क उत्पादन गर्छ । इन्जिनलाई ५ स्पीड गियरबक्ससँग जोडिएको छ ।

भारतीय सेनाका प्रतिष्ठित गोर्खा रेजिमेन्टप्रति सम्मानस्वरूप ल्याइएको क्लासिक ३५० मा सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर प्रयोग गरिएको छ । यसमा एनालग स्पिडोमिटर र एलसीडी डिस्प्ले उपलब्ध छ ।

यो मोटरसाइकलमा वायर स्पोक ह्वील, दुई टुक्राको राइडर तथा पिलियन सिट, राउण्ड मिरर, क्रोम एग्जस्ट र क्रोम हेडलाइट दिइएको छ ।


Back_to_top