चेरीको आई-कार सार्वजनिक, नेपाल पनि आउने

काठमाडौं । अमेरिकी टेक्नोलोजी जायन्ट एप्पलले अटोनोमस इलेक्ट्रीक नबनाउने घोषणा गरेको केही घण्टा भित्रै चेरीले ‘आई-कार’ ब्राण्ड नेमबाट विद्युतीय कार सार्वजनिक गरेको छ । कम्पनीले चीनमा (सुरुवाती २० लाख नेपाली रुपैयाँ) १५ हजारदेखि २३ हजार ५ सय अमेरिकी डलरसम्म मूल्य तोकेर आई-कार ल्याएको हो ।

युवा पस्ताका ग्राहकलाई लक्षित गरेर चेरीले ‘आई-कार-०३’ मोडल बजारमा ल्याएको हो । कम्पनीले स्क्वायर बक्सी डिजाइनमा तयार पारेको एसयूभी निकै आकर्षक देखिन्छ । गत वर्ष अप्रिलमा चेरीले डेडीकेटेड ईभी ब्राण्डको रुपमा ‘आई-कार’ लन्च गरेको थियो ।

कम्पनीले सार्वजनिक गरेको आई-कार-०३ विभिन्न ६ भेरियन्टमा उपलब्ध हुनेछ । यसमा ३ वटा सिंगल मोटर र ३ वटा डिउल मोटर भेरियन्ट रहनेछ ।

निकै बक्सी डिजाइनको एसयूभीको लम्बाई ४४०६ एमएम, चौडाई १९१० एमएम र उचाई १७१५ एमएम छ । यो एसयूभीमा २७१५ एमएमको ह्वीलवेस रहेको छ । यसमा १८ इन्च र १९ इन्चको ह्वील अप्सन पाउन सकिन्छ ।

चेरीको आई-कार-०३ को रियर ह्वील ड्राइभ सिंगल मोटर अप्सनले १३५ किलोवाट पावर र १८४ न्यूटन मिटरको टर्क प्रदान गर्छ । ड्यूल मोटर सेटअपमा २०५ किलोवाट पावर र २७९ न्यूटन मिटर टर्क दिन्छ । यो एसयूभी जम्मा ६.५ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुड्न सक्छ ।

सीएटीएलको ४०१ देखि ५०१ किलोमिटर रेन्ज दिने ब्याट्री प्याक दिइएको एसयूभीको फ्रन्ट र रियर लाइट सेटअपमा आई अक्षरको डिजाइनमा छ ।

आई-कार-०३ को इन्टेरियरमा १५.६ इन्चको सेन्टर कन्ट्रोल स्कृन र ड्राइभर इन्फर्मेसनका लागि छुट्टै स्कृन दिइएको छ । यसमा अटोमेटिक हेडलाइट, अटोमेटिक वाइपर, रुफ र्याक दिइएको छ । साथै एसयूभीमा इलेक्ट्रीक ह्याण्ड ब्रेक, इलेक्ट्रीक ६ वे एड्जस्टेवल ड्राइभर सिट, ड्यूलजोन अटोमेटिक एयर कन्डिसन, प्यानारोमिक सनरुफ पाउन सकिन्छ ।

कम्पनीले यसमा ५० वाटको वायरलेस चार्जर, स्टेरिङ तथा सिट हिटीङ, ६४ कलरको एम्बीयन्ट लाइट, ड्राइभर सिट मसाज एण्ड भेन्टीलेसन, कोपाइलट इलेक्ट्रीक लेगरेस्ट, डीजेआई इन्टेलीजेन्ट ड्राइभिङ, ८ वटा स्पीकर पाउन सकिन्छ ।

यो इलेक्ट्रीक एसयूभीमा लेवल २ प्लसको प्योर भिजुअल इन्टेलीजेन्ट ड्राइभिङ असिस्ट सिस्टम समेत रहेको छ ।

नेपाल पनि आउने

चेरीका उत्पादन एसपीजी अटोमोवाइलले नेपालमा बिक्री गर्दै आएको छ । कम्पनीका प्रबन्ध निर्देशक गौरभ सारडाले आई-कार-०३ सँगको तस्बिर सार्वजनिक गर्दै चाँडै नेपाल पनि आउने संकेत दिएका हुन् ।

चीनमा नेपाली रुपैयाँ २० लाखभन्दा कम मूल्यमा सार्वजनिक भएपनि नेपाल आउँदा भने महंगो पर्नेछ ।


Back_to_top