मोटर पावर परिवर्तनपछि ९ लाख मूल्य घटेर आयो एमजी-फोर

काठमाडौं । एमजीले आफ्नो सर्वाधिक सफल मोडल मध्येको एक एमजी-फोरको लङ रेन्ज मोडल १०० किलोवाट क्षमताको मोटर पावरमा नेपाल ल्याएको छ । आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले १०० किलोवाट क्षमताको मोटरमा लङ रेन्ज मोडल बिक्री सुरु गर्न लागेको हो ।

आज बिहानैदेखि धुलिखेलमा रहेको ‘डर्ट टेम्पल’मा विशेष कार्यक्रम आयोजना गरेर कम्पनीले नयाँ मोडल सार्वजनिक गर्दैछ । यसको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ हुने बताइएको छ ।

यसअघि फुल अप्सन र लङ रेन्ज मोडलमा १५० किलोवाट पीक पावर भएको मोटर थियो । त्यसको मूल्य ५८ लाख ९९ हजार रुपैयाँ थियो । मोटर पावर कम भएसँगै ९ लाख रुपैयाँ मूल्य कम भएको हो । नेपाल आएको झण्डै ६ महिनापछि १०० किलोवाट क्षमताको मोटरमा लङ रेन्ज मोडल आएको हो ।

एमजीले लङ रेन्ज मोडलमा ६४ किलोवाट आवरको ब्याट्री दिएको छ । यसले सिंगल चार्जमा ४५२ किलोमिटर रेन्ज प्रदान गर्नेछ ।

एसएआइसीको ‘मोड्युलर स्केलेबल प्लेटफर्म’मा आधारित रहेर निर्माण गरिएको एमजी-फोर इलेक्ट्रीक क्रसओभर मोडल हो । निकै स्मुद ड्राइभिङ अनुभव गराउने एमजी फोर सहरमा निकै गज्जवको अनुभव प्रदान गराउन सक्षम छ ।

कम्पनीका अनुसार यसले १५० किलोवाट क्षमताको डिसी फास्ट चार्जर सपोर्ट गर्छ । टप स्पीड क्षमता १६० किलोमिटर प्रतिघण्टा रहेको स्पोर्टी कारको रोड प्रजेन्स निकै आकर्षक छ ।

यसमा भएको डुअल-विंग स्पोइलर र फुल-वाइड एलइडी टेल ल्याम्पहरूले थप आकर्षक बनाएको छ । एमजीले यसमा क्लीन ड्यासबोर्ड, इन्फोटेनमेन्ट सिस्टम र इन्स्ट्रुमेन्ट क्लस्टर डिजिटल दिएको छ ।

एमजीले यो क्रसओभरमा धेरै स्पेश निकाल्न र आरामदायी बनाउन २७०५ एमएम लामो ह्वीलबेस दिएको छ । यसको लम्बाई ४.२ मिटरभन्दा केही बढी छ । कम्पनीले यसमा एङ्गुलर हेडल्याम्प र डुअल टोन बम्परको साथमा स्लोपीङ बोनेट दिएको छ ।

एमजी-फोरमा सेन्टर एयर इनलेट र फग ल्याम्पहरू दुवैतर्फ भर्टिकल रुपमा राखिएको छ । साथै, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड फ्रन्ट सिट र एडास लगायतका फिचर्स पाउन सकिन्छ ।


Back_to_top