काठमाडौं । आज सार्वजनिक मन्त्रीहरुको सम्पत्ति विवरण अनुसार सबैभन्दा महंगो गाडी भएका मन्त्रीमा सबैभन्दा अगाडि विराजभक्त श्रेष्ठ देखिएका छन् । खेलकुद मन्त्री रहेका उनिसँग टोयोटा ल्याण्ड क्रुजर प्राडो, एमजी इजेडएस ईभी र एक थान स्कुटर रहेको छ ।
बिराजसँगै महंगा गाडी भएका अर्का मन्त्री डोलप्रसाद अर्याल हुन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रहेका उनिसँग पनि ल्याण्ड क्रुजर प्राडो र टाटा नेक्सन ईभी रहेको छ । यी दुबै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका हुन् ।
रास्वपाबाटै शिक्षा मन्त्री बनेकी सुमाना श्रेष्ठसँग एक स्कुटर र उनको श्रीमानको नाममा महिन्दा इटूओ ईभी रहेको छ । रास्वपा सभापति, उपप्रधान तथा गृहमन्त्री रबी लामिछाने गाडीको मामलामा गरिब देखिएका छन् । उनको श्रीमती निकिताको नाममा टाटा नेक्सन ईभी रहेको छ । उनले उक्त गाडी ४२ लाखमा तिरेर २०७९ सालमा किनेको उल्लेख गरेका छन् ।
आफुसँग ब्यक्तिगत गाडी नरहेका प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्र मन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई महिन्द्राको गाडी उपहार स्वरुप दिएको उनको सम्पती विवरणमा उल्लेख छ ।
अन्य माओवादी मन्त्रीहरुको गाडी झनै अनौठो तरिकाले प्राप्त गरेका छन् । अर्थमन्त्री बर्षामान पुनसँग हलुका सवारीसधान छ भन्ने उल्ल्ेख छ । उक्त गाडी माओवादी पार्टीले दिएको उनले जनाएका छन् ।
उर्जा मन्त्री शक्ती बस्नेतसँग पनि माओवादी केन्द्रको नाममा रहेको स्कर्पियो छ । त्यस्तै सूचना तथा संचार मन्त्री रेखा शर्मासँग हुन्डाईको ३६ लाखमा किनेको कार रहेको छ ।
भूमी ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीसँग मोटरसाइकल मात्रै छ । महिला बालबालिक तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीसँग पनि ४ लाख ६५ हजारमा किनेको मोटरसाइकल छ ।
रक्षा मन्त्री हरिप्रसाद उप्रेतिसँग १६ लाख मूल्य बराबरको सवारी साधन रहेको उल्लेख छ । सहरी विकास मन्त्री धनबहादुर बुढासँग भने टोयोटा हाइलक्स र प्राडो एसयूभी रहेको छ ।
वन तथा वातावरण मन्त्री नवल किशोर शाहको श्रीमतीको नाममा एमजी हेक्टर रहेको उल्लेख छ ।

