काठमाडौं । जीएसी मोटर्सको आधिकारीक डिलर सिजी मोटर्सले जीएसी एवोनको नयाँ स्टेट अफ आर्ट शोरुम तयार गरेको छ । करिब ३ महिना अगाडि एवोन वाई मोडलको बिक्री सुरु गरेको कम्पनीले थापाथलीमा नयाँ शोरुम बनाएको हो ।
सुरुवाती मूल्य ५४ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री सुरु गरेको एवोन वाईको मूल्य ३ लाख ५१ हजार रुपैयाँले मूल्य बढाएको थियो । आकर्षक डिजाइन र निकै स्पेशियस एवोन वाईमा १०० किलोवाटको इलेक्ट्रीक मोटर र ६१.५४ किलोवाट आवरको लिथियम पोलीमर ब्याट्री पाउन सकिन्छ ।
कम्पनीका अनुसार जीएसी एवोन वाई मोडलले सिंगल चार्जमा ४६० किलोमिटर रेन्ज दिने छ । एनइडीसीले पनि यहि रेन्जलाई प्रमाणित गरेको थियो ।
एवोन हाइपर एचटी पनि देखाउने
भोलि हुने शोरुम लन्चिङमा कम्पनीले एवोन ब्राण्डकै सर्वाधिक प्रिमियम मिडसाइज एसयूभी हाइपर एचटी पनि प्रदर्शनी गर्ने भएको छ । अहिलेलाई लेफ्ट ह्याण्ड ड्राइभ भर्सनमा मात्रै हाइपर मोडल उपलब्ध रहेकोले त्यसलाई प्रदर्शनी मात्र गर्न लागेको हो ।

हाइपर एचटीमा १८० र २५० किलोवाटको रियर ह्वीलड्राइभ मोटर रहेको छ । यो कारले केवल ५.८ सेकेन्डमा शून्यबाट १०० किलोमिटर प्रतिघन्टाको स्पीडमा गुड्न सक्छ । आकर्षक डिजाइनको एओन हाइपर एचटीमा माथि खुल्ने गलविङ्ग डोर दिइएको छ ।

