सानो एसयूभीमा यस्ता छन् फिचर, नेपालमा पनि सफल हुन सक्ने

काठमाडौं । सस्तो इलेक्ट्रीक एसयूभी खोज्नेको लागि धेरै छनोट बजारमा उपलब्ध हुन थालेको छ । यस्तोमा भियतनामी विद्युतीय कार कम्पनीले भीनफास्टले नयाँ एसयूभी डिजाइनमा सानो ईभी ल्याउने भएको हो ।

भारतमा उत्पादन गर्ने तयारीमा रहेको भीनफास्टको पहिलो मोडलको रुपमा ‘भीएफ-३’ बजारमा ल्याउने भएको छ । भीएफ-३ भियतनाममा बिक्री हुँदै आएको मोडल हो । त्यसैलाई कम्पनीले भारतमा उत्पादन गर्ने लागेको छ ।

फियतनाममा बुकिङ खुला भएको ६६ घन्टामा नै २७ हजार यूनिट भीएफ-३ को प्रिअडर कम्पनीले पाएको थियो । दुई ढोका तथा ४ सिटेमा आउने भीएफ-३ एक मिनी एसयूभी हो ।

यसको लम्बाई ३१९० एमएम, चौडाई १६७९ एमएम, उचाई १६२२ एमएम रहेको छ । यसमा २०७५ एमएम लामो ह्वीलवेस रहने छ । यो ईभी एमजीको कोमेट भन्दा २१६ एमएम लामो, १७४ एमएम चौडा तथा १८ एमएमले होचो छ ।

भारतीय बजारमा उत्पादन हुने मोडलमा १६ इन्चको अलोय ह्वील सहित १९१ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । भीएफ-३ मा रियर माउण्टेड ३२.५ किलोवाटको इलेक्ट्रीक मोटर रहने छ । यसको टर्क भने ११० न्यूटन मिटर हुनेछ ।

भीएफ-३ मा १८.६४ किलोवाटको लिथियम आयोन व्याट्री रहने छ । यसले एक पटकको फुल चार्जमा २१० किलोमिटरको रेन्ज दिने कम्पनीले दावी गरेको छ । फास्ट चार्जर सपोर्ट गर्ने भीएफ-३ लाई ३६ मिनेटमा १० बाट ७० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

कम्पनीले यसको इन्टेरियरको बारेमा भने कुनै जानकारी बाहिर ल्याएको छैन । भीनफास्ट ब्राण्ड नेपाली बजारमा आउने पक्का भइसकेको छ । एड्भान्स अटोमोवाइल कम्पनीले आधिकारीक बिक्रेता लिएको भीनफास्टका उत्पादन २०२४ को अन्तिमसम्ममा नेपाल आउने अनुमान गरिएको छ ।


Back_to_top