काठमाडौं । अहिले नेपालमा बिक्री हुँदै आएका चर्चित ५ इलेक्ट्रीक कारको नाम लिँदा सबैभन्दा अगाडि आउने नाम बीवाइडी एटो-थ्री हो । एटो-थ्रीको मूल्य अहिले ५५ लाख ९९ हजारदेखि ६५ लाख ८८ हजार रुपैयाँसम्म तोकेर बिक्री हुँदै आएको छ ।
यदि, सरकारले बढाएको सिधा हेर्दाको १० प्रतिशत मात्रै मूल्य बढ्ने हो भने एटो-थ्री एड्भान्स मोडलको मूल्य ६० लाख पर्नेछ । साथै, सुपेरियर मोडलको मूल्य ७१ लाख हाराहारी पुग्छ । तर, कम्पनीहरुले ठ्याक्कै १० प्रतिशत नै बढाउँछन् भन्ने हुँदैन । उनिहरुले सकभर कम मूल्य बढाउन प्रयास गर्ने देखिन्छ ।
तीब्र प्रतिस्पर्धी बजारमा अर्को चल्तीको ब्राण्ड एमजी हो । एमजीले आफ्नो सफल मोडल जेडएस ईभी र अहिले सफलता चाख्दै गरेको एमजी-फोर दुबैको मूल्य ५ लाख हाराहारीले बढाउने देखिन्छ । तर, लिडिङ कम्पनीले परिमार्जन गर्ने करका दरले एमजीले कति मूल्य बढाउँछ भन्ने एकिन हुन्छ होला ।
अहिले एमजी जेडएस ईभीको मूल्य ५२ लाख ९९ हजार र टप स्पेश एमजी-फोरको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेको छ । यी दुबै मोडलको नयाँ मूल्य ५५ लाख भित्रै हुने अनुमान गर्न सकिन्छ ।
ओमोडा ई-फाइभ पछिल्ला दिनमा सफलता पाइरहेको अर्को इलेक्ट्रीक एसयूभी हो । यसको मूल्य अहिले ५९ लाख ४९ हजार रुपैयाँ छ । यदि अहिले बढेको कर अनुसार हेर्ने हो भने यसको नयाँ मूल्य ६५ लाख माथि पर्नेछ । तर, कम्पनीले यति धेरै मूल्य नबढाउने अनुमान गर्न सकिन्छ ।
अहिले बजारमा हटकेक रहेको अर्को मोडल दिपल एस-सेभेन हो । यसलाई एमएडब्लू वृद्धिले ७१ लाख ९९ हजार मूल्य तोकेर बिक्री गर्दै आएको छ । यदि अहिले बढेको कर अनुसार नै मूल्य बढाउने हो भने यसमा पनि ६ लाखभन्दा माथि कर बढ्न सक्छ । तर, कम्पनीले यसको मूल्य ७५ लाख भित्रै राख्ने अनुमान लगाउन सकिन्छ ।
नबढ्न पनि सक्छ मूल्य ?
सरकारले कर वृद्धि गरेपछि गाडीको मूल्य स्वत बढ्ने नै भयो । तर, अन्तर्राष्ट्रिय बजारमा ईभीको मूल्य निरन्तर ओरालो लागिरहेको छ । यस्तोमा उत्पादक कम्पनीले नेपाल आउने ईभीको मूल्य केही घटाइ दिने हो भने मूल्य नबढ्न पनि सक्छ ।
अघिल्लो वर्षपनि बजेट लगत्तै ईभीको मूल्य ७/८ लाख बढ्ने चर्चा थियो । तर, आयातकर्ता कम्पनीहरुले उत्पादकसँग समन्वय गरेर नयाँ मूल्य पाएका थिए । त्यसैले चिनियाँ उत्पादनमा १ लाख रुपैयाँभन्दा माथि कर बढेको थिएन ।
यसपटक पनि थोरै १ लाखदेखि १ लाख ५० हजार रुपैयाँले मूल्य बढ्न सक्ने देखिन्छ ।

