बढ्यो टाटा टियागो ईभीको मूल्य (सूचीसहित)

Tiago ev

काठमाडौं । सिप्रदी ट्रेडिङले टाटा टियागोको मूल्य बढाएको छ । सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेटले ५० किलोवाट क्षमतासम्म भएका विद्युतीय कारमा लाग्दै आएको १० प्रतिशत भन्सारलाई वृद्धि गरेर १५ प्रतिशत र त्यसअघि अन्तःशुल्क नलाग्ने सेग्मेन्टमा ५ प्रतिशत अन्तःशुल्क लगाएसँगै टियागो ईभीको मूल्य बढेको हो ।

सिप्रदी ट्रेडिङले टियागोको सबै भेरियन्टमा १ लाख रुपैयाँले मूल्य वृद्धि गरेको हो । अब टियागो ईभीको टप भेरियन्ट किन्ने ग्राहकले २९ लाख ९९ हजार रुपैयाँ तिर्नु पर्ने भएको छ ।

मूल्य बढ्ने संकेत गर्दै कम्पनीले आफ्नो आधिकारीक शोसल मिडिया पेज मार्फत ‘विट दी प्राइस हाइक’ नारा दिएर केही दिनअघि नै अफर दिएको थियो ।

नेपालकै सर्वाधिक सफल इलेक्ट्रीक ह्याचव्याक अहिले तीन भेरियन्टमा उपलब्ध रहेको छ । सुरुमा केही यूनिट सर्ट रेन्ज मोडल पनि उपलब्ध गराएको सिप्रदीले अहिले लङ रेन्ज मोडल मात्रै बिक्री गर्दै आएको छ ।

टियागो ईभीको इन्ट्री भेरियन्टको रुपमा एक्सटी भेरियन्ट उपलब्ध छ । यसको नयाँ मूल्य २७ लाख ४९ हजार, एक्सजेड प्लस भेरियन्टको मूल्य २८ लाख ९९ हजार र एक्सजेड प्लस लग्जरी भेरियन्टको मूल्य २९ लाख ९९ हजार पुगेको छ ।

टाटा टियागो ईभीमा ४९ किलोवाट आवरको इलेक्ट्रीक मोटर छ । उक्त मोटरले ११४ एनएम टर्क प्रदान गर्छ । टाटाले यसमा २४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्रयोग गरेको छ ।


Back_to_top