नेपालमा बिक्री भइरहेको ईभी-९ को ईपीए रेन्ज कति ?

काठमाडौं । कियाकै सबैभन्दा ठूलो इलेक्ट्रीक एसयूभी ईभी-९ अन्तर्राष्ट्रिय बजारमा बिक्री सुरु भएसँगै नेपाल पनि आएको छ । कन्टीनेन्टल ट्रेडिङले नेपाल ल्याएको ईभी-९ कियाको चर्चित मोडल हो ।

अमेरिकी बजारमा सफलताको झण्डा गाडिसकेको ईभी-९ रियर ह्वील ड्राइभ अप्सनमा मात्रै नेपाली बजारमा उपलब्ध छ । अन्तर्राट्रिय बजारमा भने अल ह्वील ड्राइभ मोडल पनि बिक्री हुँदै आएको छ ।

कम्पनीले १ करोड ७९ लाख ९० हजार रुपैयाँ मूल्य तोकेर बिक्री गर्दै आएको ईभी-९ कम्पनीको ठूलो मध्येको एक एसयूभी हो । यसको लम्बाई ५०१० एमएम, चौडाई १९८० एमएम र उचाई १७५५ एमएम छ । यसमा ३१०० एमएम लामो ह्वील वेस पाउन सकिन्छ ।

किया ईभी-९ सात सिट र तीन रो भएको एसयूभी हो । नेपालमा पाइने फुल साइज एसयूभीहरुकै साइजमा रहेको मोडलमा ७६.१ किलोवाट आवरको ब्याट्री प्याक पाउन सकिन्छ ।

अत्याधुनिक ८०० भोल्ट आर्किटेक्चरमा बनेको यो ईभीले ३५० किलोवाटसम्मको डिसी फास्ट चार्जर सपोर्ट गर्छ । जसको प्रयोगमा १० बाट ८० प्रतिशत चार्ज २४ मिनेटमा गर्न सकिन्छ ।

रेन्जमा फरक

अमेरिकी बजारमा यसको विभिन्न कोणबाट भएको रेन्ज टेष्टमा फरक फरक रिजल्ट आएको थियो । यसले सिंगल चार्जमा ३७० किलोमिटर रेन्ज दिने इपीएले प्रमाणित गरेको छ ।

कियाले नेपालमा ४४३ किलोमिटर रेन्ज भनेर बिक्री गर्दै आएको छ । डब्लूएलटीपीका अनुसार नेपालमा उपलब्ध मोडलले ४१२ किलोमिटर रेन्ज दिने प्रमाणित गरेको छ ।

इपीएका अनुसार नेपालमा उपलब्ध मोडलले ८० प्रतिशत चार्जमा ३०० किलोमिटरसम्म रेन्ज दिन्छ । कियाले ८० प्रतिशतसम्म मात्रै चार्ज गर्नु ब्याट्री हेल्थको लागि राम्रो रहेको जनाएको छ ।

निकै चिसो ठाँउमा यसलाई चलाएर परीक्षण गर्दा रेगुलर ठाँउको तुलनामा १५ प्रतिशत कम रेन्ज प्रदान गरेको हो ।


Back_to_top