सोल्ड आउट भयो अटो शोमा राखिएको ‘स्पोर्टस् कार’

काठमाडौं । नाडा अटो शो २०२४ मा राखिएको एक मात्रै स्पोर्टस् कार एमजी साइबरस्टर सोल्ड आउट भएको कम्पनीले जनाएको छ । अटो शोमा पहिलो दिन राखिएको एमजी साइबरस्टर दोस्रो दिन हटाइएको हो ।

कम्पनीका अनुसार सुरुमा दुई यूनिट मात्रै आयात भएको साइबरस्टर सोल्ड आउट भएको हो । आयात भएको दुबै यूनिट बिक्री भएसँगै स्टलबाट यसलाई हटाएर शोरुम लगिएको छ ।

‘ग्राहकले पैसा तिरेपछि अटो शोमा राख्न गाह्रो भयो । अहिले गाडी हेर्न चाहनेलाई शोरुममा पठाइरहेका छौं । अरुले पनि शोरुममा आएर गाडी हेरेर बुकिङ गर्न थालेका छन्’, एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले मेरोअटोसँग भन्यो ।

कम्पनीले एमजी साइबरस्टरको मूल्य १ करोड ६७ लाख ९९ हजार रुपैयाँ कायम गरेर बिक्री गरेको हो ।

यस्तो छ साइबरस्टर

इलेक्ट्रीक ह्याचव्याक स्पोटर्स कारको रुपमा बजारमा प्रबेश गरेको साइबरस्टर विश्वभर चर्चा कमाउन सफल मोडल हो । रियर ह्वील ड्राइभ मोटरमा नेपाली बजारमा उपलब्ध साइबरस्टरमा २५० किलोवाटको मोटर पाउन सकिन्छ ।

एमजीले आफ्नो इलेक्ट्रीक स्पोर्टस कारमा ७७ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिएको छ । उक्त ब्याट्रीलाई सिंगल चार्जमा ५०८ किलोमिटर गुडाउन सकिन्छ । यो एमजीको कन्भर्टेवल स्पोर्टस् कार हो ।

इलेक्ट्रीक साइबरस्टरको लम्बाई ४५३५ एमएम, चौडाइ १९१३ एमएम र उचाई १३२९ एमएम छ । यसको ह्वीलबेस २६९० एमएम रहेको छ । कारमा १९ इन्चको ह्वील, इलेक्ट्रीक हुड, ७ इन्चको टच स्कृन बोस्चको ८ वटा स्पीकर रहेको छ ।


Back_to_top