काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निकै तामझमका साथ उद्घाटन गरेको बिजुली बसलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पेसिफिकेशन बमोजिमको नभएको भन्दै गाडी फिर्ता लान भनेको छ ।
सुरुमा कम्पनीले भने बमोजिमको गाडी नआएको भन्दै उक्त गाडी फिर्ता गर्ने निर्णय गरिएको हो । तर, बीवाईडीको नेपालको आधिकारीक बिक्रेता सिमेक्स इन्कले भने उक्त निर्णय बारे आफुहरुलाई जानकारी नआएको बताएको छ ।
उता मन्त्रालयले भने ‘मेकानिकल इन्जिनियरले तयार पारेको रिपोर्टअनुसार मागअनुसारका गाडी नआएकाले अस्वीकृत गर्ने निर्णय गरेको जनाएको छ । मन्त्रालयले गाडी साट्न वा फिर्ता लैजान भनेको छ ।
सिमेक्स इन्कको भनाई अनुसार सबै गाडी तोकिएको स्पेसिफिकेसन भन्दा उत्कृष्ट रहेको दाबी गरेको छ । कम्पनीले सम्झौंतामा भन्दा बढी रेन्ज प्रदान गर्ने गाडी आफुहरुले डेलिभरी दिएको दाबी गरेको छ ।
लुम्बिनी विकास कोषले किनेर ल्याएको उक्त बसहरु प्रधानमन्त्रीको सक्रियतामा साझा यातायातले केही समय संचालन गर्ने सहमति अनुसार काठमाडौं ल्याइएको थियो । उक्त गाडीहरुले अहिलेपनि साझा यातायातको कम्पाउन्डमा थन्किएर बसेका छन् ।
एसियाली विकास बैंकको १२ करोड अनुदानका पाँचवटा गाडी र नौवटा भ्यान १२ करोड रुपैयाँमा खरिद गरिएको थियो ।
के भन्छ सिमेक्स इन्क ?
मन्त्रालयले गाडी फिर्ता गर्ने भनेपछि हामीले यसको आधिकारीक बिक्रेता सिमेक्स इन्कलाई सोधेका थियौ ? तपाईहरुले गाडीको स्पेसिफिकेसन फरक पारेर दिनु भएछ नी ?
‘यदी कुनै समस्या आए वा स्पेसिफिकेशनमा फरक परेको खन्डमा आपसी समझदारीमा कुरा गर्ने सम्झौंतामा हस्ताक्षर भएको छ, तर हामीलाई कुनै जानकारी नदिई गाडी फिर्ता गर्ने भन्ने कुरा हामीले बाहिरबाट सुनेका छौं ।’ सिमेक्स इन्क स्रोतले मेरोअटोलाई भन्यो ।


