काठमाडौं । विश्व चर्चित लग्जरी ब्राण्ड मर्सिडिज र चिनियाँ कम्पनी जिली होल्डीङ मिलेर बनाएको स्मार्ट ब्राण्ड नेपालमा बिक्री सुरु हुने भएको छ । सिजी मोटर्सले स्मार्टका #1 र #3 मोडल नेपाल ल्याएर बिक्री सुरु गर्न लागेको हो ।
मर्सिडिज र जिलीको संयुक्त टीमले तयार पारेको डिजाइनमा बनेका यी कारहरु निकै लग्जरी फिचरले भरिपूर्ण रहेका छन् । अहिलेसम्म विश्वभर १६ लाख विद्युतीय कार बिक्री गरिसकेको स्मार्टले अन्तर्राष्ट्रिय बजारमा समेत राम्रै चर्चा पाउन सफल भएको छ ।
सुरक्षाको हिसावले अब्बल #1 र #3 दुबै मोडलले यूरो एनक्याप क्र्यास टेष्टमा ५ स्टार सेफ्टी रेटिङ पाउन सफल भएको देखिन्छ । अत्याधुनिक ड्राइभर एसिस्ट, आकर्षक डिजायन र नविन प्रविधिको बेजोड मिश्रणमा तयार भएको स्मार्टका कार निकै प्रिमियम फिल दिनेखालको छ ।
ह्यासट्याग थ्री
सिजी मोटर्सले केही अगाडि ओरेन्ज कलर भएको #3 मोडलको मूल्य १ करोड २० लाख र इलेक्ट्रोन ब्लू म्याट्रीकको मूल्य १ करोड २२ लाख अधिकतम खुद्रा बिक्री मूल्य प्रकाशन गरेको थियो । अब यसको बिक्री सुरू हुँदा कति मूल्य कायम हुन्छ, त्यो हेर्न भने बाँकी नै रहेको छ ।

नेपाल आएको स्मार्ट ह्यासट्याग मोडल यूरोपमा पनि बिक्री वितरण हुँदै आएको मोडल हो । नेपाल ल्याइएको मोडलमा उपलब्ध ब्याट्री र मोटरको विषयमा कुनै जानकारी बाहिर आएको छैन । तर, बेलायतमा भने यसलाई दुई ब्याट्री अप्सनमा बिक्री गर्दै आएको छ ।
स्मार्ट ह्यासट्याग थ्रीमा ४९ र ६६ किलोवाट आवर क्षमताको दुई ब्याट्री उपलब्ध छ । अधिकतम १५० किलोवाटसम्मको डिसी फास्ट चार्जर सपोर्ट गर्ने एसयूभीलाई ७.४ किलोवाटको एसी चार्जरले घरमै चार्ज गर्न पनि सकिन्छ । यसमा मोटर भने ठ्याक्कै २०० किलोवाट क्षमताको छ ।
ह्यासट्याग वान
स्मार्टको इन्ट्री लेभल मोडल #1 हो । सानो, छरितो र स्मार्ट डिजाइनमा तयार भएको #1 ले अन्तर्राष्ट्रिय बजारमा फक्सवागेन आईडी-३, हुन्डाई कोना, स्कोडा इन्याक, किया सोल, बीवाइडी एटो–३ जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गरिरहेको छ ।
स्मार्ट वानमा २०० किलोवाट क्षमताको मोटर रहेको छ । निकै पावरफुल मोटरमा आउने कार रियर ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुन्छ । जसको कारण यसको ड्राइभिङ डाइनामिक्स उत्कृष्ट रहेको छ ।

कम्पनीले यसमा ६६ किलोवाट आवरको निकेल कोवाल्ट म्याग्नेसिस ब्याट्री प्याक दिएको छ । यसलाई सिंगल चार्ज गर्दा ४४० किलोमिटरसम्म चलाउन सकिने विभिन्न परिक्षणबाट देखिएको छ ।
स्मार्ट वान ईभीको अर्को रोचक पक्ष के छ भने यसले २२ किलोवाट क्षमतासम्मका एसी चार्जर सपोर्ट गर्ने क्षमता राख्छ । साथै, यसले १५० किलोवाट क्षमताको डिसी चार्जर पनि सपोर्ट गर्नेछ । डिसी चार्जरले ३० मिनेटभन्दा कम समयमा १० वाट ८० प्रतिशतसम्म चार्ज गर्न सक्नेछ ।
‘सस्टेनेवल एक्सपिरीयन्स आर्किटेक्चर’मा बनेको स्मार्ट वानको लम्बाई ४२७० एमएम, चौडाई १८२२ र उचाई १६३६ एमएम रहेको छ ।


