दशैं स्कीममा कुन ब्राण्डको मोटरसाइकल किन्दा के पाइन्छ ?

काठमाडौं । नेपालीहरुको चाडपर्व सुरू भएको छ । सवारीसाधन बिक्री गर्ने विभिन्न कम्पनीहरुले फेस्टीभ अफर ल्याउन थालेसँगै अटोमोवाइल बजारमा नयाँ रौनक सुरू भएको छ ।

दुई पाङ्ग्रे साधन बिक्री गर्ने अधिकांस कम्पनीहरूले फेस्टिभ स्कीम सार्वजनिक गरेको छन् । नेपालमा मोटरसाइकल बिक्री गर्ने मूख्य कम्पनीहरू बजाज, होन्डा, हिरो, टीभीएस, यामाहा, सुजुकी जस्ता कम्पनीले फेस्टिभ स्कीम सार्वजनिक गरिसकेका छन् ।

विभिन्न कम्पनीहरूले नगद छुटदेखि विदेश टूरसम्मका स्कीम ग्राहकलाई दिएर आफुतिर आकर्षित गर्ने प्रयास गरिरहेका छन् । केही कम्पनीले वर्षौसम्म सर्भिसमा कुनै शुल्क नलाग्ने तथा मोटरसाइकल किन्दा कार उपहार पाइनेसम्मका स्कीम ल्याएका हुन् ।

यस्तोमा आज हामीले दुई पाङ्ग्रे बिक्रेता कम्पनीहरूले ल्याएको फेस्टिभ स्कीमका बारेमा तपाईहरुलाई जानकारी दिन गइरहेका छौं । हेरौं कुन कम्पनीले कस्तो अफर दिएका छन् ।

बजाज

बजाजको आधिकारीक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले आफ्नो मोटरसाइकलमा ‘क्यास सफारी’ अफर दिएको छ । कम्पनीले ‘हात हातमा हात्ती, लकमा लखपति’ योजनामा ल्याएको हो ।

यो स्कीममा मोटरसाइकल किन्ने ग्राहकले स्योरसर्ट १०० वटासम्म हात्ती जित्न सक्ने छन् । एक हात्ती बराबर एक हजार रुपैयाँ हुने कम्पनीले जनाएको छ ।

त्यसैगरी हरेक साता एक जोडीलाई चितवनमा जंगल सफारी उपलब्ध गराउने कम्पनीले बम्पर उपहारमा १ जोडीलाई केन्यामा जंगल सफारी गराउने भएको हो ।

यस स्कीममा बजाजका मोटरसाइकल खरिद गर्ने उपभोक्ताले सहज फाइनान्स सुविधा पाउने छन् भने पाँच वर्षसम्मको वारेन्टी सुविधा पाउने छन् ।

होन्डा

होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता स्याकर ट्रेडिङले ल्याएको चाडपर्व लक्षीत स्कीममा नयाँ स्कुटर तथा मोटरसाइकल किन्ने ग्राहकलाई स्क्र्याच कुपन मार्फत १० लाख रुपैयाँसम्म नगद जित्ने अवसर प्रदान गरिएको छ ।

त्यसैगरी, च्वाइस योर स्कीम अन्तर्गत ग्राहकहरुले १०,००० रुपैयाँसम्मको थप स्क्र्याच कार्ड पाउने छन् । अथवा १२ हजार ५०० रुपैयाँ बराबरको ५ वर्षे वार्षिक मर्मत खर्च पाउने छन् । यसका अलावा पनि वाई वान गेट वान सर्भिसिङ अन्तर्गत ७ वर्षसम्म सित्तैमा सर्भिस सेवा होन्डाले अफर गरेको छ ।

हिरो

नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले ल्याएको ‘एक्कासी मालामाल’ अन्तर्गत हिरोका मोटरसाइकल तथा स्कुटर किन्दा बम्परमा कार जित्न सकिने स्कीम ल्याएको हो ।

कम्पनीले ‘दशैं, तिहार २०८१ को बहार दुई चक्के किन्दा चार चक्के उपहार’ नारासहित उक्त अफर ल्याएको हो ।

साथै, यसअफर अन्तर्गत एक्साइटमेन्ट, एड्भेन्चर र अपार पुरस्कारमा ग्राहकले अन द स्पट ८ हजारदेखि ५ लाख रुपैयाँसम्म नगद जित्न सक्नेछन् ।

सुजुकी

सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक बिक्रेता भीजी अटोमोबमाइल्सले ‘दशैँ आयो क्यास पायो’ स्कीम ल्याएको हो ।

कम्पनीले दशैं, तिहार, नेपाल सम्बत ११४५ तथा छठ पर्वको अवसरमा उक्त योजना ल्याएको हो ।

यस स्कीम अन्तर्गत सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकले न्यूनतम ७ हजारदेखि ५ लाख रुपैयाँसम्म नगद पाउने छन् ।

टीभीएस

टीभीएसको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ‘नयाँ युगको आरम्भ’ स्कीम ल्याएको छ । कम्पनीले आउँदै गरेको दशैं, तिहार र छठ जस्ता चाडपर्वलाई लक्षित गर्दै उक्त स्कीम ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल तथा स्कुटरको खरिदमा १५ लाख रुपैयाँसम्म जित्न सक्ने भएका छन् । कम्पनीका अनुसार ग्राहकले मोटरसाइकल वा स्कुटर खरिद गर्नु अघि नै स्क्र्याचमार्फत ५ लाख रुपैयाँ र फेरि मोटरसाइकल वा स्कुटर किनिसकेपछि थप १० लाख रुपैयाँसम्म जित्ने मौका पाउने छन् ।

यसका अलावा ग्राहाकले हरेक हप्ता १०० प्रतिशत क्यास ब्याक जित्नसक्ने कम्पनीले जनाएको छ ।

यामाहा

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू राइडले ल्याएको ‘बिगेस्ट १०शैं’ नामक फेस्टिभ स्कीम अन्तर्गत ग्राहकले दश लाख रुपैयाँसम्मको हात खाली नजाने स्योरशट क्याशब्याक पाउने छन् ।

यही स्कीम अन्तर्गत यामाहाले अन-द-स्पट एक्सचेन्जको सुविधा पनि दिनेछ । साथै, शुन्य ब्याजदरमा कर्जा र सहज कर्जा सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।


Back_to_top