एमजीको ब्याट्रीमा नयाँ प्रयोग, गाडीको मूल्य आधा कम

काठमाडौं । मोरिस ग्यारेज (एमजी) ले भारतमा ब्याट्री बीना नै गाडी बिक्री गर्ने योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको नयाँ स्कीम अनुसार भारतमा बिक्री गर्ने सबै मोडलमा यस्तो स्कीम दिएको हो ।

एमजीले भारतमा पहिलो पटक एमजी विन्डसरमा ब्याट्री बाहेक गाडीको मूल्य सार्वजनिक गरेको थियो । धेरैले अनौठो स्कीमको रुपमा लिएको यस योजनामा ग्राहकको प्रतिक्रिय अनुसार कोमेट र जेडएस ईभीमा पनि ब्याट्री बाहेकको गाडीको मूल्य सार्वजनिक भएको हो ।

विण्डसरको लन्चसँगै ब्याट्री रेन्टलको स्कीम ल्याएको जेएसडब्लू एमजी इन्डियाले ‘ब्याट्री एज ए सर्भिस’ (बास) नाम दिएको यो प्रोग्राममा गाडी खरिद गर्दा ब्याट्रीको पैसा तिर्नु पर्दैन । गाडी गुडाएको किलोमिटरको आधारमा मात्रै पैसा तिर्दा हुने स्कीम दिएको हो । त्यहि कारण सुरुमा गाडी किन्दा ग्राहकले कम मूल्य तिर्दा हुन्छ ।

एमजीले भारतमा ब्याट्री बाहेक कोमेटको मूल्य ४ लाख ९९ हजार र जेडएस ईभीको मूल्य १३ लाख ९९ हजार रुपैयाँ तोकेको छ । कोमेट चलाउँदा प्रति किलोमिटर यात्रामा २.५ रुपैया रेन्टल तिर्नु पर्छ । जेडएस ईभीमा ४.५ रुपैया प्रतिकिलोमिटर तिर्नु पर्ने हुन्छ । यसअघि आएको विण्डसरमा प्रति किलोमिटर ३.५ रुपैया मूल्य तोकिसकेको छ ।

ब्याट्री सहित विन्डसरको मूल्य तोकियो

आगामी अक्टुबर ३ बाट बुकिङ सुरु हुने विन्डसरको ३८ किलोवाट आवरको ब्याट्री प्याकमा तीन भेरियन्ट एक्ससाइट, एक्सक्लुसिभ तथा इसेन्स भेरियन्ट उपलब्ध हुनेछ । यी तीन भेरियन्टको मूल्य क्रमशः १३ लाख ५० हजार, १४ लाख ५० हजार र १५ लाख ५० हजार भारतीय रुपैयाँ तोकिएको छ । यसअघि व्याट्री रेन्टल स्कीममा यसको मूल्य ९ लाख ९९ हजार तोकिएको थियो ।

एमजी विन्डसरमा ३८ किलोवाट आवरको प्रिज्म्याटिक सेल भएको एलएफपी ब्याट्रीप्याक छ । यसले सिंगल चार्जमा ३३१ किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

नेपाल पनि आउने

एमजीले विन्डसर ईभी नेपालमा पनि बिक्री गर्नेछ । पारामाउन्ट मोटर्सले आगामी अक्टोबर अन्तिमसम्ममा नेपालमा बुकिङ खुला गर्नेगरी काम गरिरहेको जनाएको छ ।


Back_to_top