काठमाडौं । टाटा मोटर्सको नेपालको लागि आधिकारीक वितरक सिप्रदी ट्रेडिङले ‘टुर र ट्राभललाई लक्षित गर्दै ‘नयाँ विंगर’ मिनीबसको बिक्री सुरु गरेको छ। यो बसको सुरुवाति मूल्य ३० लाख ८० हजार रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ।
कम्पनीले काठमाडौं, इटहरी र बुटवलमा बिक्री सुरु गरेको हो। टाटा मोटर्सका एससिभी प्रडक्टका उपाध्यक्ष विनय पाठकले विंगर शहरीकरण र ट्राफिक समस्यालाई संबोधन गर्ने बस भएको दाबी गरे।
स्टाइलीस, फराकिलो स्थान, आरामदायी र सुरक्षित रहेको यो मिनिबस ठूलो परिवार, कर्पोरेट हाउसहरुमा समेत प्रयोग गर्न मिल्ने किसिमको रहेको छ ।
सिप्रदीका सिईओ राजनबाबु श्रेष्ठले चार महिना टाटा विंगरको परीक्षण गरेपछि बिक्री सुरु गरेको जानकारी दिए ।
उनका अनुसार टाटा विंगरलाई पुर्ण क्षमतामा नेपालको पश्चिमदेखि पूर्व र पुनः पश्चिममा र दार्चुलाको उत्तरी पहाडी क्षेत्रमा पनि परीक्षण गर्दा तेज र चुस्ततालाई प्रमाणित गरेको छ। विंगर ५४५८ मिमी लामो छ र १५ इन्चको ह्विल क्याप भएको टायरसहित आउने कम्पनीले जनाएको छ। लामो दूरीको यात्राका लागि विंगरमा ६०० लिटरको पर्याप्त लगेज राख्ने स्थान उपलब्ध रहेको छ ।
बसमा आरामदायी पछाडि धकेल्ने सिटहरू, व्यक्तिगत वातानुकुलीत भेन्टहरू, हरेक सीटमा युएसबी चार्जिङ प्वाइन्ट रहेको कम्पनीले जनायो।
कम्पनीका अनुसार अधिकतम कार्यसम्पादन र इन्धनको किफायतीका लागि, विंगर मिनीबसमा टाटा मोटर्सको २।२ लिटरको डाइकर इन्जिन छ जसले १०० हर्सपावरको शक्ति र १९० एनएमको फ्ल्याट टर्क दिन्छ र कम आरपीएममा पनि धेरै तान्न् शक्ति सुनिश्चित गर्छ ।
१५ सीट भएको यो सवारी साधनमा अगाडि स्वतन्त्र एमसी फेर्सन स्ट्रुट सस्पेन्सन सिस्टम भएकाले गतिशीलता र उच्चतम आराम प्रदान गर्छ।

