काठमाडौं । विभिन्न कम्पनीले भारतीय बजारमा सन् २०१८ मा सार्वजनिक गरेका नयाँ कारहरू नेपाली बजारमा प्रवेश गर्ने क्रममा रहेका छन् । ती उत्पादनका २०१९ मोडलहरू नेपाली बजारमा प्रवेश गराउने तयारीमा कम्पनीहरू लागि परेका छन् ।
यस क्रममा हुन्डाई, मारुती सुजुकी, टाटा, महिन्द्रा र टोयोटाले नयाँ कार नेपाली बजारमा ल्याउने तयारी गरिरहेका छन् ।
बजारमा आउने क्रममा रहेका नयाँ मोडलहरूमा नयाँ प्रविधि, डिजाइन तथा थप फिचरहरू समावेश भएका हुनेछन् । यसले सबै अटो बिक्रेता कम्पनीहरूले नेपाली बजारमा आफ्नो लेटेस्ट गाडी भित्र्याउन लागि पर्नेछन् ।
हुन्डाई सेन्ट्रो
हुन्डाई मोटर्स इन्डियाले सन् २०१४ देखि उत्पादन बन्द गरेको सेन्टको उत्पादन पुनः सुरु गरेको छ । कम्पनीले नयाँ जेनेरेशनको हुन्डाई सेन्ट्रोलाई अक्टोबरमा भारतीय बजारमा उतारेको थियो ।

अब यो टल–वोय डिजाइनमा निर्माण गरिएको सेन्ट्रो नेपाली बजारमा सार्वजनिक हुने भएको छ । हुन्डाईको नेपालको लागि आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले नयाँ सेन्ट्रो जनवरी अन्त्यसम्ममा नेपालमा सार्वजनिक गर्ने जनाएको छ ।
यस कारमा हलोगेन हेडल्याम्प, वाइड ग्रील, फोगल्याम्प, स्टील ह्वील, हवक्याप तथा रियर साइडमा मिड–सेट टेलल्याम्प दिइएको छ । यसकासाथै सेन्ट्रोमा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । जहाँ एप्पल कार–प्ले र एन्ड्रोइड अटोजस्ता फिचरहरू चलाउन सकिनेछ ।
१.१ लिटर, फोर–सिलिन्डर इन्जिन रहेको उक्त कारले ६९ बीएचपी र ९९ एनएम–टर्क उत्पादन गर्छ । यसमा फाइभ–स्पीड म्यानूअल र एएमटी गिएरबक्स दिइएको छ । नयाँ सेन्ट्रोले २०.३ किलोमिटर प्रतिलिटर माइलेज दिनेछ ।
मारुती सुजुकी सियाज
मारुती सुजुकीले सियाज फेसलिफ्टलाई अगस्ट २०१८ मा भारतीय बजारमा ल्याएको हो । अब यो गाडीको २०१९ मोडल नेपाली बजारमा ल्याउने तयारी भैरहेको बुझिएको छ ।

नेपालका लागि मारुती सुजुकीको आधिकारीक बिक्रेता सीजी मोटोकर्पले सियाज फेसलिफ्टलाई छिट्टै नेपाली बजारमा ल्याउने जनाएको छ । सेडान कार सियाजमा एलईडी हेडल्याम्प, एलईडी डीआरएल, एलईडी टेलल्याम्प, नयाँ बम्पर डिजान तथा रिभाइज्ड फ्रन्ट–ग्रील दिइएको छ ।
यसको इन्टेरियरमा नयाँ इन्स्ट्रुमेन्ट क्लस्टर, मल्टी इन्फरमेसन सिस्टम, अपडेटेड इन्फोटेनमेन्ट सिस्टमलगायतका फिचर उपलब्ध छन् । मारुती सियाज फेसलिफ्टमा १.५ लिटर पेट्रोल इन्जिन दिइएको छ । जसले १०४ एचपी पावर र १.३ लिटर डिजेल इन्जिनले ८९ बीएचपी पावर दिइएको छ । यसमा म्यानूअल र अटोमेटिक दुबै अप्सनमा गियरबक्स जडान गरिएको छ ।
महिन्द्रा मराजो
महिन्द्राको नयाँ एमपीभीको मराजो भारतीय बजारमा अगस्ट २०१८ मा सार्वजनिक भएको हो । महिन्द्रा मराजो कम्पनीको अहिलेसम्मको सबैभन्दा ठूलो प्यासेन्जर भेइकल हो । जसलाई कम्पनीले ७ र ८ सिट अप्सनमा बजारमा उपलब्ध गराइएको छ ।

भारतीय बजारमा निकै राम्रो ब्यापार गरिरहेको मराजो नेपाली बजारमा जनवरीको अन्त्यसम्ममा सार्वजनिक हुने कम्पनी स्रोतले जानकारी दिएको छ । नेपालमा महिन्द्राको आधिकारीक वितरक रहेको अग्नी इन्–कर्पोरेटले मराजो नेपाली बजारमा ल्याउनेछ ।
मराजोका सबै भेरियन्टमा एबीएस र ईबीडी तथा ब्रेक असिष्ट, दुई एयरब्याग तथा चाइल्ड सिटलगायतका सुरक्षा फिचरहरू दिइएको छ ।
मराजो कारको क्याविनको छतमा एयर कन्डिसनिङ्ग भेन्ट सिस्टम जडान गरिएको छ भने कारको सेन्टर कन्सोलमा ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ ।
महिन्द्रा मराजोमा नयाँ १.५ लिटर, फोर–सिलिन्डर डिजेल इन्जिन छ । यसले १२१ एचपी पावर र ३०० एनएम–टर्क प्रदान गर्छ । यसलाई कम्पनीले म्यानूअल ट्रान्समिसनमा मात्रै उपलब्ध गराएको छ ।
टाटा टियागो जेटीपी
टाटा मोट्र्सले अक्टोबर २०१८ मा टियागो र टिगोर जेटीपी सार्वजनिक गरेको थियो । फेस्टिभ सिजनलाई मध्यनजर गर्दै कम्पनीले एकसाथ दुई मोडल बजारमा ल्याएको थियो । टाटाको टियागो जेटीपी कम्पनीको सबैभन्दा सानो कार हो ।

अब यो कार नेपाली बजारमा प्रवेश गर्ने तयारी गरिरहेको छ । नेपालका लागि टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङ्गले अधिकारीक वितरकको रुपमा काम गर्दैआएको छ । कम्पनीले जनवरीमा टियागो जेटीपीलाई सार्वजनिक गर्ने जनाएको छ ।
टियागो जेटीपीमा टच–स्क्रिन स्मार्ट–प्ले इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । जेटीपी भेरियन्टमा टाटाले रेड–एसेन्ट, स्पोर्टी बम्पर, नयाँ अलोय–ह्वील, ब्ल्याक–रुफजस्ता आक्रर्षक विशेषताहरू दिएको छ । सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले दुबै कारमा डब्बल–फ्रन्ट एयरब्याग, एबीएस, ईबीडी, रियर–पार्किङ्ग क्यामरा लगाइएको छ ।
टाटा टियागो जेटीपी १.२ लिटर थ्री–सिलिन्डर टर्वो–चार्ज्ड पेट्रोल इन्जिन दिइएको छ । यसमा लगाइएको इन्जिनले १०८.५ बीएचपी पावर र १७० एनएम–टर्क जेनेरेट गर्छ ।
टोयोटा यारिस
टोयोटाले नयाँ मोडल यारिसलाई २०१८ मा नै भारतमा सार्वजनिक गरेको हो । लन्चिङ्गको सुरुवाति समयमा निकै राम्रो व्यापार गरेको यारिस अब भने नेपाली बजारमा आउने तयारीमा रहेको छ ।

टोयोटाको लागि नेपालको आधिकारीक वितरक युनाइटेड ट्रेड्र्स सिन्डिकेटले यारिसलाई नेपाली बजारमा ल्याउनेछ ।
टोयोटा–बी प्लेटफर्ममा निर्माण भएको यो कारमा १५ इन्च ह्वील बम्पर, टेलल्याम्प तथा फोल्डिङ्ग सिट दिइएको छ ।
यारिसमा १.५ लिटर पेट्रोल इन्जिन दिएको छ, जसले १०६ एचपी पावर उत्पादन गर्छ ।

