काठमाडौं । अस्ट्रियन मोटरसाइकल कम्पनी केटीएमले नयाँ जेनेरेशनमा आधारित अल न्यू–केटीएम आरसी–३९० स्पोर्ट बाइक सार्वजनिक गर्ने भएको छ । युवापुस्ताको माग र आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले विभिन्न नयाँ विशेषतासहित स्पोर्ट बाइक बजारमा ल्याउने भएको हो ।
कम्पनीले बजारमा ल्याउने भएको यस मोडलमा आकर्षक हेडलाइट सेटअप, प्रोजेक्टर हेडलाइट, लार्जर वाइन्ड स्क्रिन, वाइन्ड ब्लास्ट प्रोटेक्शनलगायतका विशेषता दिइएको छ । वाइन्ड स्क्रिनभित्र टीएफटी डिस–प्ले राखिएको छ भने केटीएम–३९० मा समावेश स्मार्टफोन इन्टर्गेशन भीआईए ब्लू–टुथ लगाइएको छ ।
फ्यूल ट्याङ्कीको डिजाइनलाई समेत परिमार्जन गरिएको कम्पनीले जनाएको छ । कम्पनीले ९.५ लिटर इन्धन क्षमताको ट्याङ्कीलाई परिवर्तन गर्ने भएको हो । आकर्षक पिलियन सिट, रियरमा काउलजस्ता विविध विशेषताले आरसी–३९० लाई स्पोर्ट–लूक दिएको छ । यतिमात्रै नभई बाइकको अगाडिको भागमापनि थुप्रै परिमार्जन गरिएको छ ।
एलईडी टेललाइट सेटअप, एलईडी ब्लिन्करलाई नयाँ स्वरुप दिइएको छ । यसमा उपलब्ध इन्जिन नयाँ इमिशन मापदन्ड बीएसभीईअनुसार निर्माण गरिएको छ ।
यसमा उपलब्ध ३७३.२ सीसी सिङ्गल सिलिन्डर फोर–भल्भ डीओएचसी लिक्विड–कुल्ड इन्जिन मोटरले ७ हजार आरपीएममा ३६ एनएम–टर्ककासाथै ९ हजार आरपीएममा ४३.५ एनएम–टर्क उत्पादन गर्छ । यसको इन्जिनमा सिक्स–स्पीड गियरबक्स लगाइने छ ।
चालकको सुरक्षाका लागि मोटरसाइकलमा एबीएस फिचरसँगै स्लिपर–क्लच दिइएको छ । यसको फ्रन्टमा ३२० मिमि र रियरमा २३० मिमिको डिस्क–ब्रेक लगाउने कम्पनीले जनाएको छ । यो मोटर साइकललाई आगामी वर्ष इटालीमा आयोजना हुने ईकामा मोटरसाइकल शोमा प्रदर्शन गर्नुकासाथै कम्पनीले २०२० मा बजारमा ल्याउने भएकोे छ ।

