काठमाडौं । कोरियन अटो जाइन्ट हुन्डाई मोटर ग्रुपले इन्डियाको लागि नयाँ रणनीति बनाएको छ । हुन्डाई ब्राण्डबाट क्रेटा ईभी बजारमा ल्याउन लागेको ग्रुपले किया ब्राण्डबाट त्योभन्दा सानो सोनेट ईभी ल्याउन लागेको हो ।
टाटा नेक्सन ईभीको प्रतिस्पर्धी सोनेट ईभी भारतमा परीक्षण सुरु भएको छ । भारतीय सडकमा देखिएको सोनेट विद्युतीय भएसँगै ईभीमा रुपान्तरण गर्न लागेको पक्का भएको हो ।
सबफोर मिटर सेग्मेन्टमा सफल मोडल सोनेट पेट्रोल र डिजेल अप्सनमा बिक्री हुँदै आएको छ । कियाले सोनेटको इलेक्ट्रीक भेरियन्ट सन् २०२५ मा लन्च गर्ने अनुमान गरिएको छ ।
अहिले पूर्णतया छोपेर परीक्षण भइरहेको सोनेटको अगाडि र पछाडि कुनै ठूलो परिवर्तन गरिएको छैन । परीक्षणमा देखिएको एसयूभीको अलोय ह्वीलसमेत समान १६ इन्चकै छ । कियाले भारतीय बजारलाई मध्येनजर गर्दै लागत कम गर्न कम्बस्चनकै धेरै कुरा लिएको अनुमान गर्न सकिन्छ ।

किया सोनेट ईभीमा १०.२ इन्चको दुई डिस्प्ले, एन्ड्रोइड अटो, एप्पल कार प्ले, बोसको प्रिमियम स्पीकर, इलेक्ट्रीक एड्जस्टेबल ड्राइभर सिट, भेन्टीलेटेड फ्रन्ट सिट, सिंगल प्यानल सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रियर एसी भेन्ट, एयर प्युरीफायर, लेवल १ एडास फिचर अहिले पनि छ । यी सबै फिचरले कम्तीमा निरन्तरता पाउने छ । सम्भवत एडास लेभल २ ईभीमा प्रयोग हुन्छ होला ।
अहिलेसम्म कम्पनीले यसको आधिकारीक घोषणा गरेको छैन । यद्यपि, कियाले सोनेट ईभीमा थप फिचरको रुपमा इलेक्ट्रीक पार्किङ ब्रेक, एड्जस्टेबल रिजेनेरेटीभ ब्रेकिङ, चारै चक्कामा डिस ब्रेक जस्ता सुरक्षा केन्द्रित फिचर दिनेछ ।
सम्भवत कम्पनीले कोना ईभीमा प्रयोग भएको ३९.२ किलोवाट आवरको ब्याट्री यसमा दिनेछ । जसको रेन्ज ३०० किलोमिटर आसपास हुनेछ ।


