काठमाडौं । किया मोटरको उत्पादन नेपाली बजारमा बिक्री–वितरण सुरु भएको २५ वर्ष पूरा गरेको छ । कन्टिनेन्टल्स ट्रेडिङ्गले नेपाली बजारमा बिक्री–वितरण गर्दैआएको कियाका गाडीहरू करिब १३ हजार हाराहारीमा नेपाली बजारमा रहेको कम्पनीले जनाएको छ ।
कियाका उत्पादन स्पोटेज, पिकान्टो, रियो, शोल ईभी, सोरेन्टो र कार्निभल मोडलको विभिन्न भेरियन्ट नेपाली बजारमा बिक्री–वितरण हुँदैआएको छ ।
बजारमा कियाको उपस्थिति अझै बलियो बनाउन कम्पनीले २०१९ मा कियाका अन्य ४ नयाँ मोडल नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको कम्पनी स्रोतले जानकारी दिएको छ ।

कम्पनीले अहिले अल न्यू पिकान्टोको बिक्री–वितरण गर्दैआएको छ । पुरानो मोडलको मूल्य करिब २५ लाखबाट सुरु हुनेमा नयाँ पिकान्टोको मूल्य भने निकै बढेर आएको कम्पनीले जानकारी दियो ।
अहिले पिकान्टोको दुईवटा भेरियन्टमात्र नेपालमा उपलब्ध रहेको छ । जसमा ई–एक्स आईआईआई भेरियन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने, ई–एक्स–एक्स लाइन १.२ को मूल्य ३५ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले स्पोटेजको पनि नयाँ फेसलिफ्ट मोडल नेपाली बजारमा ल्याएको छ । तीन भेरियन्टमा बजारमा उपलब्ध स्पोटेजको सुरुवाति भेरियन्टको मूल्य ६९ लाख ९० हजार रुपैयाँ रहेको छ भने फोर–ह्वील ड्राइभको मूल्य ८६ लाख ९० हजार रुपैयाँ रहेको छ । साथै, जिटी लाइन अटोमेटिक भेरियन्टको मूल्य १ करोड १० लाख ९० हजार रुपैयाँ रहेको छ ।

सेडान कार न्यू रियोको मूल्य ३७ लाख रुपैयाँ रहेको छ भने कार्निभल एमपीभीको मूल्य ८१ लाख ९० हजार रुपैयाँ रहेको छ । कम्पनीले बिक्री गर्दैआएको सोल ईभीको सुरुवाति मूल्य ५६ लाख रुपैयाँ रहेको छ भने, सनरुफसहितको सोल ईभीको मूल्य ५८ लाख रुपैयाँ रहेको छ ।

आक्रामक बजार विस्तारमा लाग्ने प्लान
२५ वर्ष नेपाली अटोमोवाइल बजारमा आफ्नो उपस्थिति जनाएको कियाले अब आक्रामक बजार विस्तारको प्लान बनाइरहेको छ । कम्पनीले सबै मोडलहरूको नयाँ अपडेटेड भर्सन नेपाली बजारमा प्रवेश गराएको छ ।
भारतीय बजारमा कियाको उत्पादन सुरु हुने मिति नजिकिएसँगै कन्टिनेन्टल ट्रेडिङ्गले नेपालमा एग्रेसिभ बजार बिस्तार गर्ने नयाँ रणनीति अपनाएको हो ।

भारत कनेक्सन
नेपाली बजारमा बिक्री–वितरण हुने सबै कियाका गाडीहरू दक्षिण कोरियामा निर्माण भएका हुन् । अब भने कम्पनीले भारतीय बजारमा उत्पादन भएका गाडीहरू नेपाली बजारमा प्रवेश गराउनेछ ।
भारतीय बजारमा कियाको पहिलो गाडीको रुपमा किया एसपी कन्सेप्टमा आधारित एसयूभी सार्वजनिक गर्ने तयारी भइरहेको छ । कम्पनीले उक्त एसयूभीको उत्पादन कोण ‘एसपी–२ आई’ राखेको छ ।
किया एसपी–२ आईमा टर्बो–चार्ज्ड १.० लिटर पेट्रोल इन्जिन र १.५ लिटर डिजेल इन्जिन दिएको छ । यसमा लगाइएको पेट्रोल इन्जिनले ११५ एचपी पावर र डिजेल इन्जिनले ११८ एचपी पावर उत्पादन गर्छ ।
सेभेन सिटर क्षमता भएको यस एसयूभी थ्री-रो-भर्सनमा आउने छ ।

