अत्याधुनिक शोरुमसहित एक्सपेङको बिक्री सुरु, २५ जनालाई गाडी हस्तान्त्रण

काठमाडौं । नाडा अटो शो २०२४ मा प्रदर्शनी र बुकिङ सुरु भएको एक्सपेङ ब्राण्ड आधिकारीक रुपमा नेपालमा बिक्री सुरु भएको छ । कम्पनीले शनिवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर शोरुम संचालनमा ल्याएको हो ।

थापाथलीमा सुविधा सम्पन्न शोरुम संचालनमा ल्याएको कम्पनीले आफ्नो एक्सपेङ जी–सिक्स मोडल बुकिङ गरेर बसेका २५ जना ग्राहकलाई पनि गाडी हस्तान्त्रण गरेको थियो ।

नेपालमा आधिकारीक रुपमा एक्सपेङ ब्राण्ड लन्च गर्न चीनबाट एक्सपेङ मोटर्सका उपाध्यक्ष डा. ब्रायन गू आएका थिए । उनले एक्सपेङ ब्राण्डले अहिलेसम्म गरेका काम र भोलिका दिनमा कम्पनीको विश्वब्यापी योजना सुनाएका थिए । उनले रणनीतिक साझेदार फक्सवागन ग्रुपसँग मिलेर काम अगाडि बढी रहेको र अन्तर्राष्ट्रिय बजारमा बलियो उपस्थिति जनाउने बताए ।

कार्यक्रममा सीजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा विद्युतीय साधनको प्रयोग तिब्र गतिमा बढेर हरेक १० कारमा ८ कार ईभी बिक्री हुन थालेको दावी गरे ।

‘हाम्रो नेटवर्क, सर्भिस र चार्जिङ पूर्वाधारको हिसावले नेपालमा सिजी मोटर्स लिडिङ कम्पनी बनिसकेको छ । भोलिका दिनमा सबै किसिमका सेवा प्रदान गर्न हामी तयार छौं’, प्रबन्ध निर्देशक चौधरीले भने ।

एक्सपेङ जी–सिक्स मोडलको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरु भएको हो । निकै लग्जरी फिचरले भरिपूर्ण कुप्पे डिजाइनको जी–सिक्स ८०० भोल्ट आर्किटेक्चरमा तयार भएको मोडल हो । निकै तिब्र गतिमा चार्ज गर्न मिल्ने कारमा १९० किलोवाट क्षमताको मोटर छ । यसले ४४० एनएम टर्क प्रदान गर्छ ।

एक्सपेङले जी–सिक्समा ६६ किलोवाट आवर क्षमताको ब्याट्री प्याक दिएको छ । यसको डब्लूएलटीपी रेन्ज ४३५ किलोमिटर छ ।


Back_to_top