यही वर्षबाट हुन्डाईका कारमा ‘सोलिड स्टेट ब्याट्री’

काठमाडौं । कोरियन कार निर्माता हुन्डाई मोटर्स ग्रुपले आफ्ना इलेक्ट्रीक कारमा यही वर्षबाट सोलिड स्टेट ब्याट्री प्रयोग गर्ने भएको छ । विभिन्न रिपोर्टहरुको दावी मान्ने हो भने कम्पनीले २०२५ मा सोलिड स्टेट ब्याट्री भएका विद्युतीय साधनको परीक्षण सुरु गर्नेछ ।

अहिले सर्वाधिक चासो र चर्चामा रहेको सोलिड स्टेट ब्याट्रीमा चिनियाँ कम्पनीसँगै जापानी ब्राण्ड टोयोटा, होन्डा र निसान जस्ता कम्पनी पनि लागेका छन् । यस्तोमा कोरियन कम्पनी पछाडि पर्ने कुरै भएन । जापानी कम्पनीहरुले सन् २०२६ बाट सोलिड स्टेट ब्याट्री भएका कार बजारमा ल्याउनेगरी काम गरिरहेका छन् ।

विद्युतीय साधनमा सोलिड स्टेट ब्याट्री निकै ठूलो कुरा मानिन्छ । त्यसको मुख्य कारण आगलागीको जोखिम कम हुनु, लामो ड्राइभिङ रेन्ज, तिब्र गतिमा चार्ज हुनु र निकै कठिन तापक्रममा पनि राम्रो पर्फर्मेन्स गर्न सक्ने भएको कारण यी ब्याट्री चर्चामा छन् ।

यसलाई सहज भाषामा भन्नु पर्दा परम्परागत लिथियम आयोन ब्याट्रीमा मानिसले मन-नपराउने सबैकुरा सोलिड स्टेट ब्याट्रीले सम्बोधन गर्नेछ । तर, यसमा केही कठिनाई पनि छन् । जसमा महंगो लागत र तत्काल मास प्रोडक्सन कसरी गर्ने भन्ने कुरा मुख्य हो ।

हुन्डाईले पनि यसको नमुना उत्पादन सुरु गर्दैछ । कम्पनीले दक्षिण कोरियाको ग्योन्गी-डोमामा रहेको उइवाङ रिसर्च इन्स्टिच्युटमा नयाँ ब्याट्रीको उत्पादन गर्दैछ । परीक्षण उत्पादनपछि यसको मास प्रोडक्सन सुरु हुनेछ । सन्, २०२६ बाट सोलिड स्टेट ब्याट्री भएका कार बजारमा आउने छन् ।


Back_to_top