सुर्यविनायक–धुलिखेल सडकखन्ड ८ लेनमा विस्तार गरिदै, यस्तो छ सुरु गर्ने तयारी

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गतको सुर्यविनायक–धुलिखेल सडकखन्ड ८ लेनमा बिस्तार हुने भएको छ । जापान सरकारको ऋण सहयोगमा निर्माण गर्ने तयारी भइरहेको उक्त सडकखन्डको बिस्तार कार्य आगामी मार्चबाट सुरु हुने जनाइएको छ । 

यो सडकखन्ड विस्तारको लागि जाईकाले ऋण दिने प्रस्ताव गरेको छ, तर नेपाल सरकारले उक्त ऋण स्विकृत भने गरेको छैन । यो ऋण स्विकृत हुनासाथ यो सडकखन्ड बिस्तारको काम अगाडि बढ्ने छ । 

सुर्यविनायक धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले कतिपय काम भईरहेको र जाइकासँग ऋण सम्झौता हुनासाथथप काम अगाडि बढ्ने जनकारी दिएको छ । 

आयोजनाका प्रवक्ता शिला श्रेष्ठका अनुसार, यस सडकखन्ड विस्तारका लागि जापानी संस्था जाइकाले २३ अर्ब ऋण दिने जनाएको छ । तर नेपाल सरकारका तर्फबाट उक्त ऋण स्विकृत भएको छैन । 

‘अहिले दुई लेनमा रहेको उक्त सडकलाई ८ लेनमा विस्तार गर्ने आयोजनाले तयारी गरेको छ । बढ्दो ट्राफिक जाम र दुर्घटना न्यूनिकरणका लागि सरकारले यो सडकखन्ड विस्तार गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम जापान सरकारसँग ऋण लिन लागिएको हो’ प्रवक्ता श्रेष्ठले मेरोअटोसँग भनिन् । 

जापानी टोलीले गत डिसेम्बरमा सडक विस्तारका लागि प्रारम्भिक अध्ययनसमेत गरेको थियो । अब ऋण सम्झौंता पछि विस्तारको काम सुरु हुनेछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले समेत यो सडक खन्डको बिस्तारको काम अबको तीन महिना भित्र सुरु हुने बताएका छन् ।

सडक विस्तारका लागि अहिलेसम्म सम्भाब्यता अध्यन, वातावरणीय प्रभाव बारे भने अध्ययन भैसकेको छ । 

सडक डिभिजन कार्यालय भक्तपुरले भने उक्त सडकखन्डको विस्तारको लागि प्रारम्भिक कामहरु गरिरहेको छ । जसमा घरटहरा भत्काउने काम धमाधम भैरहेको छ भने, रुखविरुवाहरु कटानी गर्नेको लागि सम्बनधीत निकायबाट स्विकृति लिने काम भैरहेको छ । 

सडक विस्तारको योजना

सुर्यविनायक–धुलिखेल सडकखन्डको १५ किलोमिटर सडक विस्तारका लागि जापान सरकारले २३ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने यसअघि नै निर्णय गरिसकेको छ । तर उक्त ऋण भने नेपाल सरकारका तर्फबाट अहिलेसम्म स्विकृत भएको छैन । 

सडक विभाग अन्तर्गतको वैदेशिक सहायता महाशाखाले अहिले जापानी टोली र नेपाल सरकारबिच ऋण सम्झौता हुने प्रक्रियामा रहेको जनाएको छ । महाशाखाका इन्जिनियर छविलाल पौडेलले आगामी मार्च महिनासम्ममा ऋण सम्झौंता भैसक्ने जानकारी दिए । 

नेपाल सरकार र जापान सरकारका बिचमा ऋण सम्झौता भएपछि सडक विस्तारको काम नियमित रुपमा अघि बढ्ने उनी बताउँछन् । उनी भन्छन्, अबको ३ महिनाभित्रमा  ऋण सम्झौता भैसक्छ । त्यसपछि काम अघि बढ्छ ।  


Back_to_top