काठमाडौं । सिजी मोटर्सले ‘जीएसी एवोन भी’ भोलिबाट बिक्री सुरु गर्ने भएको छ । कम्पनीले दुई भेरियन्टमा ल्याएर एवोन भी बिक्री सुरु गर्न लागेको हो ।
सर्ट रेन्ज र लङ रेन्ज गरी दुई भेरियन्टमा बिक्री सुरु हुन लागेको एवोन भीमा ६२ र ७५ किलोवाट आवरको दुई ब्याट्री पाउन सकिन्छ । यी दुबै भेरियन्टको मूल्य ६५ देखि ७० लाख भित्र पर्ने सिजी मोटर्सले जनाएको छ ।
फिचर लोडेड दुबै भेरियन्टमा ब्याट्री साइजको मात्रै फरक रहेको छ । त्यसैले यी दुई भेरियन्टको बीचमा मूल्य ४ देखि ५ लाख रुपैयाँसम्मको फरक रहने अनुमान गरिएको छ ।
एवोन भी मोडलमा ६२ र ७५ किलोवाट आवर क्षमताका दुई ब्याट्री दिइएको छ । यसले सिंगल चार्जमा ६५० किलोमिटरसम्म रेन्ज दिने सिएलटीसी टेष्टले देखाएको छ । यसको रियल वल्र्ड रेन्ज ५३० किलोमिटर हाराहारी हुने अनुमान गर्न सकिन्छ ।
जीएसीको एवोन-भी आफ्नो डिजाइन, लुक्स र प्रेजेन्टेसनको कारण चर्चा कमाइ रहेको मोडल हो । कम्पनीका अनुसार एवोन–भीमा २३ प्रकारका टेक्नोलोजी फिचर र ८ प्रकारका कोर यूजर भ्यालू पाउन सकिन्छ । सेल्फ इभल्भीङ एआई ककपीट, एडीगो सेन्स, एआई मोडल प्रयोग भएको कारण चालकले धेरै कुरा गाडीको सिस्टमसँग गर्न सक्नेछन् ।
एवोन–भी मोडललाई कम्पनीले ४०० भोल्ट आर्किटेक्चरमा उत्पादन गरेको भएपनि ६० प्रतिशत चार्जिङ टाइम कटौती गर्न सक्षम भएको दावी गरेको छ । अहिले यसमा प्रयोग भएको सिएटीएलको ब्याट्रीलाई १५ मिनेट चार्ज गर्दा ३७० किलोमिटर गुडाउन सकिने कम्पनीले दावी गरेको छ ।
नेपाली बजारमा १०० किलोवाट क्षमताको मोटरमा उपलब्ध हुने अनुमान गरिएको एवोन–भीको लम्बाइ ४६०५ एमएम छ । यसमा २७७५ एमएम लामो ह्वीलवेस प्रयोग भएको छ ।

