क्रेटा ईभी आउने भएसँगै नयाँ रणनीति बुन्दै सकियो हुन्डाईको ‘डिलर मिट’

काठमाडौं । हुन्डाई मोटरको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो डिलर मिट सम्पन्न गरेको छ । कम्पनीले शनिबार काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित दुसित थानी रिसोर्टमा देशभरका आफ्ना डिलरहरूको भेला सम्पन्न गरेको हो ।

विगत २ वर्षदेखि पेट्रोलियम पदार्थबाट चल्ने गाडीको बिक्रीमा आएको कमीलाई पूर्तिगर्दै अगाडि बढ्ने योजनासहित डिलर मिट सम्पन्न गरेको छ । हुन्डाईले छिट्टै क्रेटा ईभी नेपालमा बिक्री सुरू गर्दैछ । नयाँ डिलर मिटमा क्रेटा ईभी कसरी आक्रमक रुपमा बिक्री गर्ने भन्ने विषयमा रणनीति तय गरेको बुझिएको छ ।

‘डिलर मिट नियमित प्रक्रिया हो । सन् २०२५ लागेसँगै यस वर्षको सेल्स, सर्भिस र नयाँ प्रोडक्टका विषयमा बिजनेश प्लान निर्माण गर्न डिलर मिट गरिन्छ । यसले आगामी एक वर्षको बिजनेश प्लान तयार पार्ने भएको कारण डिलरहरूमा उत्साह पनि रहन्छ । त्यसमा पहिलो पटक मास मार्केटमा चल्ने ईभी हामीले ल्याउने तयारी गरिरहेका छौं । त्यसैले यसपटकको डिलर मिट विशेष बन्यो’, कम्पनीका जनरल मेनेजर दीपक थपलियाले भने ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्ना देशभर रहेका बिजनेश पार्टनर, सेल्स, सर्भिस र स्पेयरपार्टस् व्यवसायका लिडरहरू बोलाएर उक्त डिलर मिट सम्पन्न गरेको हो ।

‘हामी व्यवसायसँगै समुदायमा केन्द्रीत सेवामा अग्रसर हुनुपर्छ । विगतदेखि नै तपाईं डिलरहरूको साथ र सहयोगमा हुन्डाईका उत्पादनले बजारमा बलियो प्रभाव जमाएको हो । नयाँ वर्षमा नयाँ मोडलसहित बलियो बिक्री र त्यसपछिको सेवा हाम्रो प्राथमिकतामा पर्नेछ,’ लक्ष्मी ग्रुपका चेयरम्यान गणेशबहादुर श्रेष्ठले भने ।

चाँडै क्रेटा ईभी बिक्री थाल्ने

लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्ना डिलरहरूलाई अबको केही दिनमा नै क्रेटा ईभीको बिक्री थाल्ने घोषणा गरेको छ । सबै डिलरहरूलाई क्रेटा ईभीको लागि तयार रहन भनेको हो ।

कम्पनीले आफ्नो डिलर मिटको समापनमा नेपालबाट चेन्नाई गएर क्रेटा ईभी चलाएर आएका पत्रकार तथा कार रिभ्यूअरहरूलाई पनि बोलाएर अनुभव सेयर गर्न लगाएको थियो ।


Back_to_top