काठमाडौं । चिनियाँ न्यू इनर्जी अटोमोबाइल ब्राण्ड बीवाइडीले आफ्ना सबै मोडलमा ‘फ्रि स्मार्ट ड्राइभिङ फिचर’ दिने भएसँगै विश्वभर कार निर्माताहरुमा भुइचालो आएको छ । बीवाइडीको निर्णयबाट टेस्लादेखि चिनियाँ ब्राण्डहरु नै तर्सेका छन् ।
सोमबार बीवाइडीको गड्स आई फिचर घोषणासँगै चिनियाँ अटोमोवाइल कम्पनीहरुको सेयर मूल्यमा गिरावट आएको थियो । एक्सपेङ र जिली अटोले बीवाइडीसँग प्रतिस्पर्धा गर्न नसक्ने अनुमान लगाउँदै कम्पनीको मूल्यमा गिरावट आएको चिनियाँ मिडियाको दावी छ ।
मंगलबार एक्सपेङको सेयरमा ८.४ प्रतिशत तथा जिलीको सेयरमा ११.१ प्रतिशतले गिरावट आयो । यसलाई यी कम्पनीको सेयरमा अहिलेसम्म ठूलो गिरावट भनिएको छ । त्यस्तै बीवाइडीको सेयर मूल्य भने हंङकङ स्टक मार्केटमा ४.५ प्रतिशतले बढेको छ ।
बीवाइडीले आफ्नो लाइनअपको सबैभन्दा सस्तो सिगलदेखि सम्पूर्ण २१ वटा मोडलमा ‘गड्स आई’ नामक एड्भान्स ड्राइभ असिस्ट सिस्टम दिने योजना सार्वजनिक गरेको हो ।
अमेरिकी कम्पनी टेस्लाले यसअघि नै आफ्ना सबै मोडलमा यी फिचर दिएको थियो । टेस्लाको सेल्फ ड्राइभिङ ड्राइभर असिस्ट सफ्टवेर प्रयोग गर्न अमेरिकामा ३२ हजार डलरभन्दा महंगो कार खरिद गर्नु पर्ने र मासिक ९९ डलर ग्राहक सेवा शुल्क तिर्नु पर्ने थियो । तर, बीवाइडीले आफ्ना सम्पूर्ण फिचर निःशुल्क दिने र सबै मोडलमा उपलब्ध हुने जनाएको छ ।

