बन्यो ‘हाइड्रोजन’बाट चल्ने बाइक, सामान्य कारभन्दा तीन गुणा बढी पावर

काठमाडौं । पछिल्लो समय चार पाङ्ग्रेमा मात्र होइन दुई पाङ्ग्रे सवारीसाधनमा समेत नयाँ-नयाँ इनोभेसन भइरहेका छन् । यहि क्रममा कावासाकीले हाइड्रोजन इन्जिन भएको पावरफुल मोटरसाइकल बजारमा ल्याएर चर्चा कमाइरहेको छ ।

बजाजले केही दिन अघि सिएनजीबाट चल्ने मोटरसाइकल सार्वजनिक गरेर भारतमा नयाँ तरङ्ग ल्याएको थियो । कम मूल्यमा नै आएको बजाज मोटरसाइकल भारतमा धेरैको रोजाइमा पर्न थालेको छ ।

विश्व चर्चित सुपर बाइक निर्माता कम्पनी कावासाकीले मोटरसाइकलमा नयाँ इनोभेसन गरेको छ । कावासाकीले बनाएको हाइड्रोजन इन्जिन निकै पावरफुल पाउन सकिन्छ । सामान्य कारकोभन्दा तीन गुणा बढी पावर दिने ९९८ सीसीको इन्जिन यसमा छ । यसको अधिकतम पावर २१० पीएस हुनेछ ।

रोचक के छ भने पेट्रोलबाट चल्ने मोटरसाइकलले धुवाँ निकाल्छ भने हाइड्रोजनबाट चल्ने मोटरसाइकलले एग्जस्टबाट पानी निकाल्छ । विद्युतीय साधनको जस्तै यसको पावर पनि तत्कालै अनुभव गर्न सकिन्छ ।

कावासाकीले हाइड्रोजन मोटरसाइकलमा सुपरचार्जिङ इन्जिन प्रयोग गरेको छ । हाइड्रोजनबाट चल्ने भएका कारण यसको इन्जिन डिजाइनमा परिर्वतन गरिएको छ । यसमा प्रयोग भएको इन्जिन पेट्रोल इन्जिनको तुलनामा विल्कुलै फरक हुनेछ । नयाँ मोटरसाइकल कावासाकी एच २ एसएक्सबाट प्रभावित डिजाइनमा आउने छ ।

कम्पनीले अहिले तयार पारेको मोटरसाइकलको प्रोटोटाइप डिजाइन हो । यसलाई सन् २०३० सम्ममा कम्पनीले ब्यवसायीक उत्पादन सुरू गर्ने जनाएको छ ।


Back_to_top