साझेदारी गर्न टेक्नोलोजी कम्पनी खोज्दै निसान

काठमाडौं । आर्थिक संकटलाई नजिकबाट देखिसकेको निसान मोटर्सले होण्डासँगको मर्जर भङ्ग गरेसँगै नयाँ साझेदार खोज्न थालेको छ । कम्पनीले नयाँ पार्टनरको खोजी गरिसकेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

मिडिया रिपोर्ट अनुसार निसान मोटर्सले अब भित्र्याउने पार्टनर टेक्नलोजी कम्पनीको हुनेछ । निसानले अमेरिकाको टेक्नोलोजी कम्पनीसँग पार्टनरसिपको प्रस्ताव राखेको व्लुम्बर्गले लेखेको छ ।

केही रिपोर्टलाई मान्ने हो भने जापानी कम्पनीले अमेरिकी टेक जाइन्ट एप्पलसँग पनि अनौपचारिक कुराकानी चलाइरहेको छ ।

त्यस्तै फ्रेन्च कम्पनी रेनोसँग रहेको निसानको ३६.८ प्रतिशत सेयर बिक्री गर्न रेनोले पनि छुट्टै पार्टनरसँग कुरा बढाइरहेको छ । रेनोले १८.७ प्रतिशत शेयर बिक्री गर्ने योजना बनाएको हो । रेनोले ताइवानी टेक्नोलोजी कम्पनी फक्सकनसँग निसानको शेयर बिक्री गर्ने प्रस्ताव राखेको फाइनान्सीयल टाइम्सले उल्लेख गरेको छ ।

रेनो र निसान बीच सन् १९९९ मा एलायन्स बनेको थियो । यो एलायन्स अन्तर्गत रेनोले निसानमा ३६.८ प्रतिशत सेयर हालेको थियो । निसानले भने रेनोमा १५ प्रतिशत हिस्सा लिएको थियो । त्यस्तै निसानले सन् २०१६ मा अर्को जापानी अटोमोवाइल कम्पनी मित्सुबिसीको ३४ प्रतिशत सेयर खरिद गरको थियो । योसँगै तीन कम्पनीको रेनो–निसान–मित्सुबिसीको एलायन्स बनेको थियो ।


Back_to_top