होण्डाका दुई इलेक्ट्रीक स्कुटरको डेलिभरी सुरू हुँदै

काठमाडौं । होण्डा मोटरसाइकल तथा स्कुटर इण्डियाले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर एक्टिभा र क्यूसी १ को डेलिभरी सुरू गर्ने तयारी थालेको छ ।

कम्पनीले पहिलो दुवै इलेक्ट्रीक स्कुटरहरू डिलरमा पठाउन सुरू गरेको हो । भारत मोबिलिटी एक्स्पो २०२५ मा प्रदर्शन गरिएको यी दुवै स्कुटरको नयाँ कलर भेरियन्ट होण्डा डिलरशिपमा देखिएको हो ।

कम्पनीले अबको केही दिन भित्रमा नै एक्टिभा ई र क्यूसी १ को बिक्री सुरू गर्ने अनुमान गरिएको छ ।

होण्डाले एक्टिभा ईको १ लाख १७ हजार भारतीय रुपैयाँ, एक्टिभा ई कनेक्टको १ लाख ५१ हजार भारतीय रुपैयाँ र क्यूसी १ को ९० हजार भारतीय रुपैयाँ (एक्स शोरुम) मूल्य निर्धारण गरेको छ ।

कम्पनीले यी स्कुटरको डेलिभरी भने फेब्रुअरी २०२५ देखि सुरू गर्ने जनाएको छ । कम्पनीले धेरै जसो फिचर एउटै दिएको एक्टिभा ई र क्यूसी १ समान डिजाइनमा बनेको स्कुटर हो ।
कम्पनीले एक्टिभा ई मा १.५ किलोवाट क्षमातका दुई रिमुभएबल ब्याट्रीप्याक दिएको छ भने क्यूसी १ मा १.५ किलोवाट क्षमताको फिक्सड् ब्याट्री छ । एक्टिभालाई घरमा चार्ज गर्न सकिन्न भने क्यूसी १ मा चार्जिङ पोर्ट दिइएको छ । एक्टिभा ईमा तीन राइड मोड उपलब्ध हुँदा क्यूसी १ मा २ वटा मोड मात्रै उपलब्ध छ ।

होण्डा मोटरसाइकल तथा स्कुटर इन्डियाले २०२५ मा क्यूसी १ र एक्टीभा ई मोडल १ लाख युनिट उत्पादन गर्ने योजना बनाएको छ । कम्पनीले सुरूवातमा शहरी क्षेत्रहरूमा यसको बिक्री सुरू गर्ने योजना बनाएको हो ।

यी स्कुटरले बजाज चेतक, टीभीएस आइक्यूब, एथर चेतक जस्ता स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top