काठमाडौं । चिनियाँ सरकारी स्वामित्वका दुई अटोमोबाइल कम्पनी एक आपसमा मर्ज हुने भएका छन् । चांगान अगोमोबाइल कम्पनी लिमिटेड र डोङफेङ मोटर ग्रुप कम्पनी लिमिटेड मर्ज हुन लागेका हुन् ।
अमेरिकी संचार माध्यम न्यूयोर्क टाइम्सका अनुसार दुवै कम्पनीले संयुक्त अप्रेसन सम्बन्धी वार्ता सुरू भएको छ । दुवै कम्पनीले कसरी मर्जर प्रक्रिया अगाडि बढाउने भन्ने बारेमा प्रारम्भिक छलफल गरेका हुन् ।
दुवै कम्पनीले आफ्ना अन्तर्राष्ट्रिय साझेदारलाई पनि जानकारी गराउने विषयमा समेत छलफल गरेको बताइएको छ । डोङफेङ र चांगानको अमेरिकी कम्पनी फोर्ड र जापानी कम्पनी निसान र माज्दासँग पार्टनरशिप रहेको छ ।
गत फेब्रुअरीमा यी दुई कम्पनीले आफूलाई रिस्ट्रक्चरिङ गर्ने निर्णय गरेका थिए । केही समय अघि चीन सरकारले समेत आफ्नो स्वामित्वमा रहेको कम्पनीहरूलाई मर्जरमा जान निर्देशन दिएको समाचार बाहिरिएको थियो ।
डोङफेङ, चांगान र एफएडब्लूमा चिनियाँ सरकारकोे प्रत्यक्ष लगानी गरेको छ । डोङफेङ र चांगानले मर्जरको प्रकृयाको सुरू भए पनि एफएडब्लूको बारेमा केही समाचार बाहिर आएको छैन ।
चांगान अटोमोबाइलको १२ वटा ग्लोबल म्यानुफ्याक्चरिङ बेस रहेको छ । चांगानले सन् २०२४ मा २६ लाख ८३ हजार युनिट कार बिक्री गरेको थियो । त्यस्तै, डोङफेङको २४ लाख ८० हजार युनिट गाडी बेचेको थियो ।
ग्लोबल फाइनान्स इन्फ्रास्ट्रक्चर तथा डाटा प्रोभाइडर एलएसइजीका अनुसार अहिले डोङफेङ ग्रुपको मार्केट क्यापिटलाइजेसन ४.८९ अर्ब डलर र चांगान अटोको १५.६५ अर्ब डलर रहेको छ ।

