टेस्ला कमजोर हुँदा बीवाइडीलाई फाइदा, जिली र फक्सवागेन तिब्र बिस्तारमा

काठमाडौं । विश्व इलेक्ट्रीक कारको बजारमा टेस्लाको प्रभुत्व सकिएको छ । टेस्लालाई बीवाइडीले लगातार दुई क्वाटरमा उछिन्दै पछाडि धकेलिदिएको हो ।

अमेरिकी लग्जरी इलेक्ट्रीक कार ब्राण्ड टेस्ला सधैँ आफ्ना विवादास्पद सीईओ इलन मस्कको कारण चर्चामा रहँदै आएको छ । पछिल्लो ६ महिनादेखि उनि अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पसँगको राजनीतिक यात्राको कारण चर्चा छन् । उनको ध्यान राजनीतिमा केन्द्रित भएसँगै टेस्लाको सेल्समा ठूलो गिरावट देखिएको हो ।

सन् २०२५ को पहिलो क्वाटरमा टेस्लाले केबल ३ लाख ३६ हजार ८६१ युनिट कार बिक्री गर्न सक्यो । जबकी चिनियाँ ब्राण्ड बीवाइडीले सोही अवधिमा ४ लाख १६ हजार युनिट प्योर इलेक्ट्रीक कार बिक्री गरेको छ । २०२४ को अन्तिम क्वाटरमा पनि टेस्लाले ४ लाख ९५ हजार ५७० युनिट कार बिक्री गर्दा बीवाइडीले ५ लाख ९५ हजार ४१३ युनिट बिक्री गरेको थियो ।

यी दुई कम्पनीले २०२४ मा लगभग बराबर जतिनै प्योर इलेक्ट्रीक कार बिक्री गरेका थिए । टेस्लाले गतवर्ष १७ लाख ८९ हजार २२६ युनिट बिक्री गर्दा बीवाइडीले १७ लाख ६४ हजार ९९२ युनिट बिक्री गरेको थियो ।

काउन्टर पोइन्ट रिसर्च एजेन्सीका अनुसार सन् २०२५ मा इलेक्ट्रीक भेहिकलको उत्पादन र बिक्रीमा टेस्ला र बीवाइडीको प्रतिस्पर्धा रोचक बन्दा जिली र फक्सवागेन पनि बलियोसँग आउने छन् ।

रिसर्च एजेन्सीका अनुसार विश्वब्यापी प्योर ईभीको बिक्रीमा बीवाइडीको हिस्सा १५.७ प्रतिशत हुने दावी गरिएको छ । जबकी टेस्लाको बजार हिस्सा १५.३ प्रतिशत रहने छ ।

यी दुई कम्पनीलाई पच्छाउने क्रममा जिलीले ७.५ प्रतिशत र फक्सवागेनले ७.१ प्रतिशत बजार हिस्सा ओगट्ने काउन्टर पोइन्टले आफ्नो रिसर्चमा उल्लेख गरेको छ ।

जिली र फक्सवागेनले ईभी बिस्तारमा ठूलो लगानी गर्दै आएका छन् । विशेषगरी बीवाइडी हाइब्रिडमा फोकस भएको अवस्थामा प्योर इलेक्ट्रीकको बजार सिनारियो फरक देखिन सक्नेछ ।


Back_to_top