तयार हुँदै ‘नयाँ जेनेरेशन भेन्यू’, थपिने छन् यस्ता फिचर

काठमाडौं । हुन्डाईको सफल सब फोर मिटर एसयूभी भेन्यूको नयाँ जेनेरेशन मोडल अहिले परीक्षणको क्रममा देखिएको छ । भारतमा परीक्षण चलिरहेको भेन्यू करिब ६ वर्षपछि नयाँ जेनेरेशन मोडलको रुपमा आउन लागेको हो ।

आगामी चाडपर्वको अवसर पारेर भारतमा सार्वजनिक हुने अनुमान गरिएको भेन्यू सन् २०१९ मा पहिलो पटक बजारमा आएको हो । सन् २०२२ मा पहिलो पटक फेसलिफ्ट भएको भेन्यूको नयाँ जेनेरेशन मोडल अब आउने भएको छ ।

अहिले छोपेर परीक्षणमा देखिएको भेन्यूमा डिजाइनका आधारमा पनि भिन्न हुने अनुमान गरिएको छ । यसको फ्रन्ट ग्रिलमा परिवर्तन हुनेछ । बक्सी डिजाइन र स्पोर्टी बडी डिजाइनमा आउने नयाँ जेनेरेसन भेन्यू फ्रन्ट पार्किङ सेन्सरदेखि एडास फिचर लोडेड भएर आउने छ ।

चारवटै चक्कामा डिस्क ब्रेक र नयाँ डायमण्ड कट अलोय ह्वीलको साथ आउने एसयूभीमा बाक्लो बडी क्लाडिङ, रुफरेल पनि इनब्यूल्ट रहने छ । पछाडि कनेक्टेड टेल लाइटको साथ आउने एसयूभीको इन्टेरियर पनि परिमार्जन हुने अनुमान गरिएको छ ।

ठूलो पानारोमिक सनरुफ, अहिलेभन्दा ठूलो साइजको स्कृन, भ्यान्टीलेटेड सिट जस्ता मोर्डन फिचर उपलब्ध हुनेछन् । कम्पनीले इन्जिनमा भने कुनै परिवर्तन नगर्ने अनुमान छ ।

नेपालमा समेत लक्ष्मी मोटरले एसेम्बलिङ गर्दै आएको भेन्यू मोडलको नयाँ जेनेरेशन भारतमा बिक्री सुरु भएसँगै नेपाल पनि आउने छ ।


Back_to_top