काठमाडौं । गत भदौमा भएको नाडा अटो शो २०२४ बाट नेपालमा बिक्री सुरू भएका दुई मोडल टाटा पन्च र डोङफेङ नामी मध्ये कुन उत्कृष्ट मोडल भनेर धेरैले चर्चा गरेको सुनिन्छ ।
यी दुई मोडल बडी डिजाइन फरक भएका गाडी हुन् । नामी ह्याचब्याक हो भने पन्च ईभी माइक्रो एसयूभी सेग्मेन्टमा उपलब्ध मोडल हो ।
टाटा पन्च गत भदौदेखि नै बिक्री सुरू भयो । तर, नामीको संख्यात्मक आयात कात्तिकबाट भएको हो । सिप्रदीले दशैं अगाडि राम्रो संख्यामा पन्च ईभी बिक्री गरेको थियो । तर, तिहार लगत्तै नामीको बिक्रीले रफ्तार लियो ।
अहिलेसम्मको आयात हेर्दा दुवै मोडल बीच कडा प्रतिस्पर्धा चलिरहेको देखिन्छ । सिप्रदीले पन्च ईभी ६६५ युनिट आयात गर्दा एमएडब्लू वृद्धिले ६०२ युनिट नामी ह्याचब्याक ल्याएको छ ।
आयात तथ्यांक अनुसार केबल ६३ युनिटको फरक भएका यी दुवै मोडलमा फिचर, मूल्य, डिजाइन लगायतका कुरामा भने व्यापक परिवर्तन पाउन सकिन्छ ।
मूल्य
दुवै मोडल समान तीन भेरियन्टमा उपलब्ध छ । पन्च ईभीको इम्पावर्ड प्लस एस मिड रेन्ज (एमआर) भेरियन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ छ ।
अन्य दुई भेरियन्ट लङ रेन्ज (एलआर) मा उपलब्ध छ । जसमा इम्पावर्डको मूल्य ३७ लाख ९९ हजार र इम्पावर्ड प्लस एसको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ छ ।
डोङफेङ नामी ई-१ को मूल्य ३० लाख २४ हजार, ई-२ को मूल्य ३२ लाख ४९ हजार र टप भेरियन्ट ई-३ को मूल्य ३५ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
ब्याट्री साइज र रेन्ज
टाटा पन्चमा २५ र ३५ किलोवाट आवरको दुई ब्याट्री अप्सन छ । सानो ब्याट्रीले २०० किलोमिटर आसपास र ठूलो ब्याट्रीले २७० किलोमिटर आसपास रेन्ज दिन्छ । यसमा मोटर पनि सानो ब्याट्रीसँग ४८ किलोवाट र ठूलो ब्याट्रीसँग ९० किलोवाटको पाउन सकिन्छ ।

डोङफेङ नामी पनि दुई ब्याट्री अप्सनमा पाउन सकिन्छ । यसमा सानो ब्याट्री ३१ किलोवाट आवर र ठूलो ब्याट्री ४२ किलोवाट आवरको छ । सानो ब्याट्रीमा ई-१ र ई-२ भेरियन्ट उपलब्ध छ । ठूलो ब्याट्रीमा ई-३ भेरियन्ट पाउन सकिन्छ । नामीको रेन्ज २५० देखि ३३० किलोमिटरसम्म रहेको डब्लूएलटीपीले प्रमाणित गरेको छ ।
बिक्रीमा राम्रो हुनुको कारण
टाटा पन्चको बिक्रीमा सबैभन्दा ठूलो योगदान यसको डिजाइनको छ । एसयूभी डिजाइनमा भएको कारण यसले धेरै उपभोक्ताको ध्यान खिच्यो । साथै, सिप्रदीको बलियो नेटवर्क, उच्च ग्राउण्ड क्लियरेन्स र फिचर लोडेड भएको कारण पन्चले राम्रो व्यापार गर्न सकेको हो ।
डोङफेङ नामीको व्यापार राम्रो हुनुको पछाडि सबैभन्दा बलियो कारण यसको स्पेश हो । फराकिलो क्याबिन, लामो साइज, मोर्डन इन्टेरियर, आकर्षक मूल्य र उत्कृष्ट रेन्ज नामीको बलियो पक्ष हो ।


