काठमाडौं । फ्रान्सेली अटोमोबाइल कम्पनी रेनोको क्विड ईभी नेपाल भित्रिएको छ । चीनमा उत्पादन भएको ह्याचब्याक क्विड ईभी नेपाल आएको हो ।
नेपालका लागि रेनोको आधिकारिक बिक्रेता एडभान्स अटोमोबाइल्सले आफ्नो चर्चित ह्याचब्याकलाई नेपाल ल्याएको हो । नेपाली बजारमा सन् २०१८ मा क्विडको पेट्रोल भर्सन भित्रिएको थियो ।
नेपाल आएको क्विड ईभीमा भएको फिचर लगायतका विषयमा एडभान्स अटोमोबाइले केही जानकारी नदिए पनि अन्तर्राष्ट्रिय बजारमा रहेको ३३ किलोवाट पिक पावर क्षमताको मोटरमा क्विड ईभी आउने पक्का जस्तै छ । उक्त माेटर्सले १२५ न्युटन मिटर टर्क जेनेरेट गर्छ ।
अहिले बजारमा पेट्रोलबाट चल्ने जस्तै डिजाइनमा रहेको क्विड ईभीमा २६.६ किलोवाट आवरको लिथियम आयोन एनएमसी ब्याट्री दिइएको छ । यसले ३५१ किलोमिटरसम्म रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ ।
अहिले नेपाली बजारमा परीक्षणको क्रममा रहेको क्विड ईभीको आधिकारिक बिक्री सुरू हुन भने अझै केही समय लाग्न सक्नेछ । यदि, तत्काल बजारमा आउने हो भने यसले टाटा टियागो ईभी, डोङफेङ नामी, विलिङ विंगो लगायतका मोडलसँग सिधा प्रतिस्पार्धा गर्नेछ ।
सुरूमा नेपाल आउँदा जसरी क्विडले उपभोक्ता तान्न सकेको थियो, त्यही रफ्तार ईभीमा पाउँछ वा पाउँदैन अहिल्यै भन्न सकिँदैन । तर, आधुनिक ईभीहरू फिचरका मामलामा अब्बल हुने कारण क्विड ईभी पनि फिचर लोडेड भएर आउने कुरामा दुईमत छैन ।
चीन र युरोपियन बजारमा समेत बिक्री भइरहेको क्विड ईभी बिक्रीका आधारमा युरोपमा राम्रो गरिरहको मोडल हो ।