काठमाडौं । युरोपियन देशहरूमा विद्युतीय सवारी साधन (ईभी)को बिक्रीमा गिरावट आइरहँदा विश्वको तेस्रो ठूलो अटोमोबाइल बजार भारतमा भने ह्वात्तै बढेको छ ।
हालै प्रकाशित एक रिपोर्टका अनुसार आव सन् २०२४/२५ मा भारतीय बजारमा २० लाख बढी ईभी (दुईपाँग्रे, तीनपाँग्रे र चारपाँग्रे) बिक्री भएको हो ।
सन् २०२४ को अप्रिलदेखि सन् २०२५ को मार्चसम्म भारतीय बजारमा २० लाख २६ हजार १८४ युनिट विद्युतीय सवारी बिक्री भएको हो ।
अघिल्लो वर्षको तुलनामा गत आवमा भारतमा ईभीको बिक्री १५.३१ प्रतिशत अर्थात् २ लाख ६९ हजार ७५ युनिटले बढेको हो ।
भारतीय ईभी बजारमा सबैभन्दा ठूलो हिस्सा दुईपाँग्रे सवारीको रहेको छ । भारतमा कुल ईभीको बिक्री संख्यामा ५९.३८ प्रतिशत दुईपाँग्रे ईभी बिक्री भएको हो । यो संख्या अघिल्लो आवको भन्दा १८.७६ प्रतिशतले धेरै हो । भारतमा ओला इलेक्ट्रीक, टीभीएस मोटर, बजाज अटो प्रमुख तीन उत्पादक हुन् । त्यस्तै, चौथो र पाँचौं धेरै ईभी एथर इनर्जी र हिरो मोटोकर्पको रहेको छ ।
त्यस्तै, कुल ईभी बिक्रीमा दोस्रो धेरै ३४.६९ प्रतिशत हिस्सा तीनपाँग्रे सवारीको रहेको छ । गत आवमा भारतीय बजारमा ७ लाख २ हजार ७९९ युनिट ईथ्री ह्वीलर बिक्री भएको हो ।
ईभी बिक्रीमा दुईपाँग्रे र तीनपाँग्रेको हिस्सा ९४ प्रतिशत रहे पनि चारपाँग्रेको भने न्यून छ । गत १ वर्षमा भारतीय बजारमा १ लाख १० हजार ७४८ युनिट विद्युतीय कार बिक्री भएको छ । कुल ईभी बिक्रीमा कारको हिस्सा ४.५७ प्रतिशत हो ।
इलेक्टीक कारको बिक्री अघिल्लो आवभन्दा ९.८६ प्रतिशत १० हजार ९१५ युनिट धेरै भएको हो । कारमा टाटा मोटर्सको ५३.१० प्रतिशत, एमजीको १४.४३ प्रतिशत र महिन्द्राको ७.७३ प्रतिशत रहेको छ ।
भारतीय बजारमा गत आवमा ३ हजार ५७० युनिट इलेक्ट्रीक बस बिक्री भएको छ । यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३० युनिट कम हो ।
भारतीय बजारमा सन् २०१५ मा २ हजार ३४४ युनिट मात्र ईभी बिक्री भएकोमा ११ वर्षको अवधिमा ८६४ गुणाले बढेर २० लाख माथि पुगेको हो । यो हरित सवारी प्रयोगमा निकै राम्रो छ । ११ वर्षमा भारतमा कुल ६१ लाख ६५ हजार ९६४ युनिट ईभी बिक्री भएको छ । देशभर २६ हजार ३६७ वटा चार्जिङ स्टेशन निर्माण भइसेका छन् ।

