फागुनको पहिलो साता नेपाली बजारमा सार्वजनिक हुँदै यी ३ कार

काठमाडौं । फागुनको पहिलो साताबाट नेपाली बजारमा तीन नयाँ कार बिक्री वितरण सुरु हुने भएको छ । नेपाली बजारमा रहेका तीन ब्रान्डका नयाँ मोडल सार्वजनिक हुन लागेको हो ।

हुन्डाई मोटरको बहुप्रतिक्षित कार सेन्ट्रो आगामी बिहिबार अर्थात् फागुन २ गते सार्वजनिक हुने छ भने, फागुन ५ गते आइतबार निशान किक्स र त्यसको केही दिनपछि डाटसन गो नयाँ मोडल सार्वजनिक हुनेछ ।

हुन्डाईको नेपालको लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले सेन्ट्रोलाई नेपाली बजारमा सार्वजनिक गर्न लागेको हो भने, पायोनियर मोटर्सले निशान किक्स र डाट्सन गोको फेसलिफ्ट मोडल सार्वजनिक गर्न लागेको हो ।

यी मध्य हुन्डाई सेन्ट्रो र निशान किक्स अहिले निकै चर्चामा रहेका मोडल हुन् । भारतीय बजारमा गत अक्टोवर २३ मा सार्वजनिक भएको सेन्ट्रो भारतमा निकै रुचाईएको मोडल हो भने किक्स २०१९ जनवरी २२ मा सार्वजनिक भएको हो । सार्वजनिक भएको पहिलो महिनानै १३ सय भन्दा बढी युनिट बिक्री भएको थियो ।

भारतीय बजारमा हुन्डाईले आफ्नो सानो फ्यामली कार भन्दै ब्रान्डिङ गरेको सेन्ट्रो मासिक ९ हजार युनिट हाराहारीमा बिक्री गर्दै आएको छ । तर डाट्सन गो भने भारतमा मासिक ४ सय युनिट हाराहारीमा मात्रै बिक्री हुँदै आएको छ । 

हुन्डाई सेन्ट्रो

अल न्यू हुन्डाई सेन्ट्रोलाई कम्पनीले डी–लाइट, इरा, मग्ना, स्पोर्टेज र अस्टा–ट्रीम गरी ५ भेरियन्टमा उपलब्ध गराएको छ । नेपाली बजारमा पेट्रोल भेरिएन्टमा मात्रै उपलब्ध हुने यो कारमा १.१ लिटर, फोर–सिलिन्डर इञ्जिनले ६९ बीएचपी र ९९ एनएम–टर्क उत्पादन गर्छ । यसको पेट्रोल इञ्जिनमा फाइभ–स्पीड म्यानूअल र अप्सनल फाइभ–स्पीड एएमटी गिएरबक्स दिइएको छ । नयाँ सेन्ट्रोले २०.३ किलोमिटर प्रतिलिटर माइलेज दिनेछ ।

हुन्डाई सेन्ट्रो कम्पनीकै अल न्यू के–१ प्लेटफर्ममा निर्माण गरिएको हो । यस कारमा हलोगेन हेडल्याम्प, वाइड ग्रील, फोगल्याम्प, स्टील ह्वील, हवक्याप तथा रियर साइडमा मिड–सेट टेलल्याम्प दिइएको छ ।

यसकासाथै सेन्ट्रोमा  ७ इञ्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कार–प्ले र एन्ड्रोइड अटोजस्ता फिचरहरु रहेका छन् । सुरक्षाको लागि ड्युल एयरव्याग दिइएको यो कार निकै आर्कषक डिजाइनमा तयार भएको छ ।

निशान किक्स

डिजेल र पेट्रोल दुबै अप्सनमा उपलब्ध रहने किक्समा १.५ लिटरको इन्जिन लगाइएको छ । यसमा दिइएको १४९८ सीसी क्षमता पेट्रोल इन्जिनले १०६ पीएस पावर र १४२ एनएम टर्क जेनेरेट गर्छ भने डिजेल इन्जिनले ११० पीएस पावर र २४० एनएम टर्क जेनेरेट गर्छ । किक्सको पेट्रोल भेरियन्टले १४ किलोमिटर र डिजेल भेरियन्टले २० किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ । 

किक्समा स्ट्यान्डर्ड फिचरको रुपमा सबै भेरियन्टमा ड्यूल फ्रन्ट एयरव्याग, ईबीडीसहितको एबीएस, आईएसओफिक्स चाइल्ड सिट माउन्ट रहनेछ । यसको टप भेरियन्टमा साइड–एयरव्याग, ईएसपी र हिल–स्टार्ट असिस्टको फिचर पनि रहनेछ । किक्समा सेग्मेन्टमै पहिलोपटक ३६० डिग्री क्यामराको फिचर रहेको छ, जसलाइ टप भेरियन्लेटमा मात्र दिइएको छ ।

डाट्सन गो

डाट्सन गो फेसलिफ्ट भएर आएको हो । कम्पनीले गोको नयाँ भर्जनमा कयौँ अपडेट गरेको छ । नयाँ बम्पर तथा ग्रिल, रिवाइज्ड हेलल्याप्स, एलईडी डीआरएल्समा परिमार्जन गरिएको छ ।  कारको पछि लगाइएको सीसी क्यामेरामा इन्टीग्रेटेड टर्न इन्डिकेटर्स समेत दिइएको कम्पनीले जनाएको छ । 

साथै, स्मार्टफोन कनेक्टिभिटीलाई सपोर्ट गर्ने टचस्क्रिन इन्फोनेन्ट सिस्टम र सुरक्षाको लागि ड्राइभर साइड एयरब्याग दिइएको छ । आर–१२ डीई १.२ लिटर, ३ सिलिन्डर पेट्रोल इञ्जिन दिइएको छ, जसले ६७ बीएची पावरकासाथै १०४ एनएम टर्क जेनेरेट उत्पादन गर्छ ।


Back_to_top