काठमाडौं । विश्वको सबैभन्दा ठूलो अटोमोवाइल कम्पनी टोयोटाले नयाँ इलेक्ट्रीक भेहिकल सार्वजनिक गर्ने भएको छ । टोयोटाले नयाँ ईभी यही वर्षको अन्त्यसम्ममा युरोपमा लन्च गर्ने योजना बनाएको हो ।
टोयोटाले कम्प्याक्ट क्रसओभर सी-एचआरलाई अब अल इलेक्ट्रीक पावरट्रेनमा लन्च गर्ने भएको हो । कम्पनीले यसको नाम ‘सी-एचआर प्लस’ राख्ने घोषणा गरेको हो ।
टोयोटाले सी-एचआर ईभीमा ५७.७ वा ७७ किलोवाट आवरको ब्याट्री अप्सन दिने भएको हो । यसमा फ्रन्ट ह्वील ड्राइभ र अल ह्वील ड्राइभ अप्सनमा उपलब्ध हुनेछ । यसको फ्रन्ट ह्वील ड्राइभ भर्सनमा १३० किलोवाटको मोटर दिएको छ । अल ह्वील ड्राइभको रियरमा थप १२० किलोवाटको मोटर रहनेछ ।
टोयोटाले सी-एचआर ईभीको अधिकतम रेन्ज ६०० किलोमिटरसम्म हुने दावी विभिन्न रिपोर्टहरुले गरेका छन् । सी-एचआर ईभीलाई १५० किलोवाटसम्मको डिसी फास्ट चार्जर र २२ किलोवाटसम्मको एसी चार्जरले चार्ज गर्न सकिन्छ ।

अहिले अन्तर्राष्ट्रिय बजारमा हाइब्रिड र पेट्रोल इन्जिनमा उपलब्ध सी-एचआरभन्दा ईभी लामो र चौडा हुनेछ । ईभी भर्सनमा रि-डिजाइन गरिएको हेडलाइट, पातलो क्लोज ग्रील र लोअरमा एयरभेन्ट दिइने छ । यसको रियरमा एलइडी टेललाइट, कनेक्टेड लाइटबार, डकटेल स्पोइलर रहने छ ।
यसको क्याविनमा १४ इन्चको मल्टिमिडीया डिस्प्ले, एडास सेफ्टी सिस्टम, एम्बीयन्ट लाइट, ड्यूल चार्जिङ प्याड, प्यानारोमिक सनरुफ जस्ता फिचर छन् ।


