काठमाडौं । नेपाली बजारमा एमजीको अपग्रेडेड ‘कोमेट ईभी’ सार्वजनिक भएको छ ।
नेपालका लागि एमजीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले नयाँ एमजी कोमेट ईभी सार्वजनिक गरेको हो ।
अपग्रडेड कोमेट ईभीमा रियर पार्किङ क्यामेरा, पावर फोल्डेबल साइड मिरर, ७ किलोवाटको फास्ट चार्जिङ लगायत फिचर थप गरिएको छ । फास्ट चार्जिङबाट ३.५ घण्टामै शून्यबाट १०० प्रतिशत चार्ज हुनेछ ।
कोमेट ईभी आधुनिक सहरी जीवनशैलीलाई मध्येनजर गरि डिजाइन गरिएको मिनी कार हो । एमजीको बिको (भित्र फराकिलो, बाहिर कम्प्याक्ट) डिजाइन दर्शनबाट प्रेरित कोमेट ईभीमा चार सिट क्षमता छ । बाहिरी रूपमा सानो देखिए पनि भित्री हिस्सा पर्याप्त फराकिलो स्पेस छ।
कोमेट ईभीमा १७.३ किलोवाट क्षमताको प्रिज्मेटिक सेल लिथियम आयन ब्याट्री राखिएको छ । यसले एकपटक फूलचार्जमा २३० किलोमिटर रेन्ज दिने अराइ प्रमाणित गरेको छ ।
आइपी ६७ रेटिङ भएको यो ब्याट्री धुलो र पानीबाट सुरक्षित छ । ३९ वटा सुरक्षा परीक्षण सफलतापूर्वक पास गरेको छ।
कोमेट ईभीमा १०.२५ को डुअल स्क्रीन (इन्फोटेन्मेन्ट टचस्क्रीन र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर) राखिएको छ । साथै, यसमा स्मार्ट कीको सुविधा पनि छ ।
एमजी कोमेट ईभीमा डुअल फ्रन्ट एअरब्याग, एबीएस र ईबिडी, अगाडि र पछाडिको ३ पोइन्ट सिटबेल्ट, टीपीएमएस, अइएसओ फिक्स चाइल्ड सिट एन्कर लगायत सुरक्षा फिचर छन् ।
कम्पनीले कोमेट ईभीको ब्याट्रीमा ८ वर्ष वा १ लाख २० हजार किमी तथा हाई-भोल्टेज कम्पोनेन्टमा ३ वर्ष वा १ लाख किमी वारेन्टी दिएको छ ।


