इरानले पारित गर्यो कच्चा तेल ढुवानी गर्ने विश्वकै मुख्य बाटो बन्द गर्ने प्रस्ताव

काठमाडौं । इरानको संसदले विश्व तेल ढुवानीको प्रमुख मार्ग हर्मुज स्ट्रेट बन्द गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । आइतबार अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा आक्रमण गरेपछि त्यसको प्रत्युत्तरमा इरानले हर्मुज स्ट्रेट बन्द गर्ने निर्णय गरेको हो ।

यो प्रस्तावको अब अन्तिम स्वीकृति भने सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले दिनुपर्नेछ । अमेरिकाको हवाइ हमलाले इरानका नतान्ज, फरडओ र इस्फहानस्थित आणविक स्थलमा ठूलो क्षति पुगेको छ । तेहरानले यसलाई स्पष्ट आक्रमणको संज्ञा दिएको छ ।

उत्तरमा इरान र दक्षिणमा ओमान एवं संयुक्त अर इमिरेट्सबीच पर्सियन खाडी र अरब सागरलाई जोड्ने स्ट्रेट अफ हर्मुज अन्तर्राष्ट्रिय व्यापार र ढुवानीका लागि महत्त्वपूर्ण समुद्री मार्ग हो । यसलाई कच्चा तेल व्यापारको सबैभन्दा ठूलो चेकप्वाइन्टका रूपमा लिइन्छ ।

अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआइए) का अनुसार विश्वको करिब २० प्रतिशत तेल र २० प्रतिशत लिक्विफाइड न्याचुरल ग्यास यही मार्ग हुँदै ढुवानी हुन्छ । हरेक दिन करिब २०.९ मिलियलन ब्यारेल तेल र यससम्बन्धी उत्पादन यही मार्ग हुँदै ढुवानी हुन्छ ।

यस बाटोबाट मुख्य गरी भारत, चीन, जापान, दक्षिण कोरिया लगायत देशमा तेल लैजाने गरिएको छ ।

साउदी अरब, इराक, कुवेत, कतारजस्ता प्रमुख तेल उत्पादक देशहरूको तेल यहीँबाट निर्यात हुने भएकाले यसमा कुनै अवरोध आए विश्वव्यापी तेल आपूर्तिमा समस्या आई पर्नसक्छ । त्यसले गर्दा तेलको मूल्यले अस्वभाविक वृद्धि हुन सक्ने जानकारहरूको चेतावनी छ ।

जेपी मोर्गनको विश्लेषणअनुसार स्ट्रेट अफ हर्मुज बन्द भए तेलको मूल्य प्रतिब्यारेल १२० डलरसम्म पुग्न सक्छ ।


Back_to_top