यस्ता फिचरसहित चैत १ गते भारतमा सार्वजनिक हुँदै यामाहा ‘एमटी-१५’

सार्वजनिक हुनु १५ दिन अगाडि यामाहाको बहुप्रतिक्षित नेकेड बाइक एमटी-१५ को तस्विर बाहिर आएको छ । कम्पनीले आफ्नो नयाँ बाइकलाई आगामी मार्च १५ अर्थात् चैत १ गते भारतमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

यो यामाहाको २०१९ मा भारतीय बजारमा हुने सबैभन्दा ठूलो लञ्च हो । यसलाई कम्पनीले विशेष डिल नेटवर्कमा पुर्याइसकेको भारतीय मिडियाहरुले उल्लेख गरेको छ । 

यसअघि इन्डोनेसियामा यामाहाले एमटी-१५ सार्वजनिक गरेको थियो । इन्डोनेसियाली मोडलको तुलनमा भारतीय मोडलमा निकै ठूलो कस्मेटीक र मेकानिकल परिर्वतन गरिएको छ । 

भारतीय बजारमा आउन लागेको एमटी-१५ मा यूएसडी फर्कलाई हटाईएको छ भने टेलिस्कोपिक यूनिटलाई अगाडि प्रयोग गरिएको छ ।

कम्पनीले आफ्नो नयाँ बाइकमा आर-१५ भी थ्रीमा रहेको १५५ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले १९ बिएचपी अधिकतम पावर र १४.७ एनएम टर्क उत्पादन गर्छ । 

यामाहा एमटी-१५ मा अगाडिको चक्कामा २८२ एमएम र पछाडि २२० एमएमको सिंगल डिस्क ब्रेक दिएको छ । यसका अलावा कम्पनीले नयाँ बाइकमा डियुल च्यान एबीएसमा बजारमा ल्याउने छ । 

यस बाइकको लम्बाई २०२० एमएम, चौडाई ८०० एमएम र उचाई १०७० एमएम रहेको छ भने ह्वील बेस १३३५ एमएम रहेको छ । 

भारतीय बजारमा आएको केही महिना भित्रै एमटी-१५ नेपाली बजारमा पनि आउने मोरङ अटोवर्क स्रोतले जनाएको छ । अहिलेसम्म भारतमा यसको मूल्य घोषणा भइसकेको छैन । यद्यपी बिभिन्न स्रोतले यसको मूल्य १ लाख २० हजार भारुको हाराहारीमा रहने अनुमान गरेको छन् । 

यदि यही मूल्यमा र तत्काल नेपाली बजारमा आउने हो भने बाइकको मूल्य ४ लाख रुपैयाँ हाराहारीमा पर्ने अनुमान गरिएको छ ।


Back_to_top