थापाथलीमा ‘फ्लाई ओभर’, यी स्थानमा आकाशे पुल

ललितपुर । उपत्यकाका सवारी साधनको चाप बढी हुने थापाथलीमा ‘फ्लाई ओभर’ निर्माणको लागि जापानी सहयोग संस्था (जाइका) ले अध्ययन गरिरहेको छ । सो पुल थापाथलीबाट त्रिपुरेश्वर, माइतीघर र कुपण्डोलसम्म हुने बताइएको छ । 

एक दशकयता सडकमा सवारी साधनको सङ्ख्या बढेसँगै  ‘फ्लाई ओभर’ निर्माण गर्नुपर्ने आवस्यकता बढेको हो । 

आकाशे पुलको अभाव

सवारी साधनको चाप बढिरहँदा पनि आकाशेपुल बन्न नसक्दा महानगरवासी हैरान भएका छन् । ललितपुर महानगरपालिकाका व्यस्त सडकमा कतै पनि आकाशेपुल छैन । आकाशेपुलको अभावमा पैदलयात्रु धेरै समय कुरेर ‘जेब्राक्रसिङ’ बाट बाटो काट्ने गरेका छन् । बालबालिका र ज्येष्ठ नागरिकलाई बाटो काट्न झनै कठिन छ । 

झम्सिखेलका जीवराम थापामगर आकाशेपुल नहुँदा बाटो काट्न पर्ने स्थानमा हिँड्नसमेत नसक्ने अवस्था रहेको बताउँछन् । आकाशेपुल ठाउँठाउँमा नहुँदा १५÷१६ वर्षका ठिटाठिटीलाई समेत एक्लै सडक पारी पठाउन नसकिएको थापा बताउँछन् । उनि भन्छन् “आकाशेपुल नहुँदा हामी बूढापाका र केटाकेटीलाई बाटोमा हिँड्न पनि गाह्रो भयो ।” 

चालकले ‘जेब्राक्रसिङ’ मा समेत पैदलयात्रुलाई प्राथमिकता नदिने गरेको पैदलयात्रु बताउँछन् । महानगरपालिकामा अहिलेसम्म पुल्चोक, ग्वार्खो र बागडोल गरेर तीन ठाउँमा मात्रै आकाशेपुल छन् । ग्वार्खो र बागडोलमा चक्रपथ सडक विस्तारका क्रममा चिनियाँ निर्माण कम्पनीले पुल निर्माण गरेको थियो । मुख्य सडकमा भने पुल्चोक एक ठाउँमा मात्रै आकाशेपुल निर्माण भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । उनि भन्छन्, “भित्री शहरका धेरै ठाउँमा आकाशेपुल आवश्यक भए पनि हामीले निर्माण गर्न सकेका छैनौँ ।” 

महानगरपालिकाको लगनखेल, मङ्गलबजार, कुपण्डोल, जावलाखेललगायत स्थानमा आकाशेपुल बढी आवश्यक रहेको प्रवक्ता महर्जनको भनाइ छ । महानगरपालिकाले चालू आवमा आकाशेपुल निर्माणका लागि बजेट नछुट्ट्याएको जानकारी दिँदै उनि भन्छन्, “चालू आवमा योजना बनाएर आगामी वर्ष काम गर्ने योजना छ ।” 

महानगरपालिकाले पैदलयात्रु र सवारीसाधन दुवैको चाप बढी भएका ठाउँमा आकाशेपुल निर्माणका लागि अध्ययन शुरु भएको बताएको छ । आकाशेपुल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) को काम भइरहेको प्रवक्ता महर्जन बताउँछन् । 

कुपण्डोल, अल्का अस्पताल, पाटन अस्पताल अगाडिलगायत ठाउँमा आकाशेपुल बढी आवश्यक भएकाले अध्ययन भइरहेको उनले जानकारी दिए । 

अस्पताल अगाडि र चक्रपथका चोकमा आकाशे पुल बढी आवश्यक रहेको महानगरपालिकाले जनाएको छ । चिनियाँ निर्माण कम्पनीले चक्रपथको यस सडकखण्ड हस्तान्तरण गरेपछि सरकारले विभिन्न छ स्थानमा आकाशे पुल निर्माण गरिरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । प्रवक्ता महर्जन भन्छन्, “यो वर्ष अध्ययन सकिएपछि आगामी वर्ष योजनामा पर्नेछ ।” 


Back_to_top