बुधबारदेखि बिक्री सुरू हुँदै एमजी विन्डसर ईभी

काठमाडौं ।नेपाली बजारमा एमजी विन्डसर ईभीको बुधबार (असार १८ गते) सावर्जिनक हुने भएको छ । एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले बुधबार एमजी विन्डसर ईभी लन्च गर्ने भएको हो ।

विन्डसर जेएसडब्लू एमजीले भारतमा उत्पादन गरेको दोस्रो ईभी मोडल हो । भारतमा उत्पादन भएको कोमेट मिनी ईभी यस अघिदेखि नै नेपालमा बिक्री हुँदै आएको छ । भारतीय बजारमा निकै राम्रो संख्यामा बिक्री हुँदै आएको विन्डसर ईभी नेपालमा भने बीवाइडी डल्फिनसँग सिधा प्रतिस्पर्धा गर्ने मोडल हो ।

विन्डसर ईभी एक्सक्लूसिप र इसेन्स गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ । केही समय अगाडी प्रकाशित मूल्यका अनुसार एक्सक्लूसिपको ३९ लाख ४९ हजार इसेन्सको ४२ लाख ४९ हजार रहेकोमा बिक्री सुरू हुँदा अझै कम हुने अनुमान गरिएको छ ।

यस्तो छ विन्डसर ईभी

एमजी विन्डसर लग्जरी र आधुनिक फिचरले भरिपूर्ण कम्प्याक्ट यूटिलिटी भेहिकल (सीयूभी) मोडल हो । यसमा चालक र यात्रुको सहजताको लागि वायरलेस चार्जर, अटोमेटिक एसी, इलेक्ट्रीकल्ली एड्जस्ट गर्न मिल्ने फ्रन्ट सिट दिइएको छ । त्यसको अलावा पावर टेलगेट, ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रीक स्टेबिलिटी कन्ट्रोल, ३६० डिग्री क्यामेरा जस्ता फिचर छन् ।

एमजीले विन्डसर ईभीमा ३८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ । साथै, यसमा १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । यसको पीकटर्क २०० एनएम छ । सिंगल चार्जमा ३३१ किलोमिटर गुडाउन सकिने कम्पनीको दाबी छ । भारतको सहरी क्षेत्रमा परीक्षण गर्दा यसले ३२७ किलोमिटरसम्म रेन्ज दिएको बताइन्छ ।

विन्डसरमा फ्लस डोर ह्याण्डल, क्लिन सर्फेस र सबै लाइटहरू एलईडी प्रयोग भएको छ । अगाडि ठूलो एज प्रयोग गरेर निकै अनौठो लाग्ने डिजाइनमा विन्डसर इलेक्ट्रीक तयार पारिएको छ । यसमा १८ इन्चको अलोय ह्वील पाउन सकिन्छ ।

पछाडि यात्रुले पनि आरामदायी यात्राको मज्जा लिन सकोस् भनेर सिट १३५ डिग्रीसम्म डल्काउन मिल्नेगरी बनाइएको छ । नयाँ विन्डसरमा निकै ठूलो पानारोमिक ग्लास रुफ दिइएको छ । इन्टेरियरमा ८.८ इन्चको फुल एलसीडी इन्ट्रुमेन्ट प्यानल र १५.६ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल स्क्रीन छ ।


Back_to_top