काठमाडौं । भारतमा इलेक्ट्रीक दुई पाँग्रे साधन उत्पादन गर्ने कम्पनीहरुले आफ्नो उत्पादन कटौती गर्ने भएका छन् । भारतमा चल्तीका ब्राण्ड बजाज, टीभीएस र एथरले हेभ िरेयर अर्थ (एचआरई) म्याग्नेटको सप्लाई कम भएकाले इलेक्ट्रीक स्कुटरको उत्पादन घटाउने भएका हुन् ।
विगत ४ महिनादेखि चिनियाँ बजारबाट आउने उक्त म्याग्नेट आयात हुन नसक्दा अटो निर्माताहरुले आफ्नो उत्पादन कटौती गर्नु परेको हो ।
पछिल्ला महिनामा सबैभन्दा अगाडि देखिएको टीभीएसले आइक्युब स्कुटरको उत्पादन १० प्रतिशतसम्मले घटाउने भएको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको बजाजले ५० प्रतिशतसम्मले उत्पादन घटाउन लागेको हो ।
पर्फमेन्समा आधारित स्कुटर उत्पादन गरेर निरन्तर राम्रो ब्यापार गरिरहेको एथर इनर्जीले पनि आफ्नो उत्पादन १० प्रतिशतसम्मले घटाउन लागेको जनाएको छ ।
सबै भारतीय इलेक्ट्रीक दुई पाङ्ग्रे साधन उत्पादकहरुले चीनमा उत्पादन भएको म्याग्नेट प्रयोग गर्दै आएकाछन् । यस्तोमा पछिल्ला चार महिनादेखि चनिले निर्यात रोकिदिँदा भारतीय निर्माताहरु समस्यामा परेका हुन् ।
ओलाले भने स्कुटर उत्पादनमा कुनै समस्या नहुने बताएको छ । ओलाको बिक्रीमा विगत ५/६ महिनादेखि लगातार गिरावट आएको कारण उसलाई म्याग्नेटको समस्या छैन । ओलासँग अझै ६ महिनाको उत्पादन थेग्ने म्याग्नेट रहेको कम्पनीको भनाइ छ ।
बजाज टीभीएस र एथरले भने चीन बाहेक अन्य देश जापान, इन्डोनेशिया र भियतनामदेखि म्याग्नेट आयात गर्नका लागि पहल सुरू गरिसकेको जनाएका छन् ।


