अब निजी सवारीले पनि हरेक वर्ष फिटनेस जाँच गराउनुपर्ने

काठमाडौैं । सरकारले अब निजी सवारी साधनले पनि अनिवार्य फिटनेस जाँच (प्राविधिक रूपमा चुस्त दुरुस्त छ/छैन) गराउनु पर्ने व्यवस्था गर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको ‘सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ को मस्यौदामा उक्त प्रस्ताव गरिएको हो ।

प्रस्तावित विधेयक अनुसार अब निजी सवारी साधन (दुईपाँग्रे बाहेक)ले सुरू दर्ता भएको मितिले ५ वर्षपछि प्रत्येक वर्ष एक पटक सवारी जाँचपास गर्नुपर्ने व्यवस्था गरिएको छ ।

हाल सार्वजनिक सवारी साधनले मात्र दर्ता भएको ५ वर्षसम्म प्रत्येक वर्ष एक पटक र त्यसपछि हरेक ६/६ महिनामा सवारी जाँचपास गर्नुपर्ने व्यवस्था छ । हाल निजीको हकमा जाँचपास गर्नुपर्ने व्यवस्था छैन ।

उक्त विधयेक स्वीकृतिका लागि मन्त्रिपरिषद् समक्ष पेश गरिएको मन्त्रालयको पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुख (सह-सचिव) कृष्णराज पन्थले जानकारी दिए । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि उक्त विधयेक संघीय संसदमा दर्ता गरिने उनले बताए ।

प्रस्तावित विधेयक प्रतिनिधि र राष्ट्रिय सभा दुवैबाट पारित भई राष्ट्रिपतिले प्रमाणीकरण गरेपछि ऐन बन्ने छ । उक्त ऐन राजपत्रमा प्रकाशित भएपछि कानुनको रूपमा कार्यान्वयनमा आउने छ ।


Back_to_top