काठमाडौं । फोटोन ब्राण्ड नेपालको लागि नौलो होइन । चिनियाँ कमर्शियल अटोमोबाइल कम्पनी फोटोनले नेपालमा पीकअप, भ्यान, ट्रक लगायतका साधन बिक्री गर्दै आएको छ ।
नेपालकै पुरानो मध्येको एक अटोमोबाइल व्यवसायिक घराना एमएडब्लू ग्रुप अन्तर्गतको एमएडब्लू वृद्धिले फोटोनको आधिकारिक बिक्रेताको रुपमा यसलाई नेपाल ल्याएको हो । पीकअप सैग्मेन्टमा फोटोन निकै बलियो छ ।
यसअघि टुनल्याण्ड ई र ई प्लस मोडल बिक्री गर्दै आएको एमएडब्लू वृद्धिले केही दिन अगाडि टुनल्याण्ड जी-सेभेन नेपाल ल्याएको छ । फोर वाइ फोर सिस्टमसहित आएको जी-सेभेनलाई ‘बिल्ट फर हिमालयाज्’ स्लोगन सहित नेपालमा बिक्री सुरू गरिएको हो ।
निकै पावरफुल इन्जिनमा उपलब्ध जी-सेभेनको मैले काठमाडौंदेखि कास्कीको पन्चासे नजिकसम्म चलाएका थियौं । उक्त ड्राइभको क्रममा मैले पाएको केही बलियो पक्षका विषयमा यहाँ चर्चा गरिएको छ ।
ड्राइभिङ अनुभव
फोटोन टुनल्याण्ड जी-सेभेन निकै सहज ह्याण्डलिङ भएको पीकअप हो । अझ टेस्ट ड्राइभमा प्रयोग भएको पीकअप टप भेरियन्ट थियो । अटोमेटीक गियरबक्स भएको र २.० लिटर टर्बो चार्ज्ड इन्जिन भएको कारण पावरमा कुनै सम्झौता हुँदैन । ३९० एनएमको पीकटर्कले उकालो, ओरालोमा कुनै समस्या हुँदैन । यसको २२५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्सले कतै समस्या निम्तदैन ।

पीकअपको क्याबिन पनि फिचर लोडेड छ । प्रिमियम सिट, सनरुफ, १२.३ इन्चका दुई स्क्रीन, स्मार्ट पुस-स्टार्ट बटम, अटोमेटीक एसी, इलेक्ट्रीकल्ली एड्जस्टेबल सिट दिइएको छ । सुरक्षाको लागि ड्युल एयरब्याग, ईबीडी सहितको एबीएस, हिल होल्ड असिस्ट, हिल डिसेन्ट कन्ट्रोल, इलेक्ट्रोनिक डिफरेन्सियल लकको कारण क्याबिन प्रिमियम र सुरक्षीत छ ।

माइलेज
पीकअप भन्ने बित्तिकै सबैले सोच्ने इन्धन खपत धेरै गर्छ भन्ने हो । यसमा ८० लिटर क्षमताको डिजेल ट्याङ्की दिइएको छ । ठूलो डिजेल ट्याङ्की भएको पीकअपले लामो यात्रामा दिने माइलेजले मलाई छक्कै बनायो ।
काठमाडौंबाट पन्चासेको तलसम्मको ड्राइभ अनि फर्केर काठमाडौंसम्मको यात्रा ४५० किलोमिटर गरियो । उक्त यात्रामा टुनल्याण्ड जी-सेभेनले केबल ४५ लिटर हाराहारी डिजेल मात्रै खपत ग¥यो । औषतमा प्रतिलिटर लगभग १० किलोमिटर यात्रा गराउन सफल भयो । त्यसमा पनि पूरै समय एसी चलाएर हामीले यात्रा गरेका थियौं ।

निष्कर्ष
फोटोन टुनल्याण्ड जी-सेभेन उत्कृष्ट मूल्यमा पाइने फोर बाइ फोर पीकअप हो । चलाउन निकै सहज पीकअपको टप भेरियन्ट नै ७१ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री हुँदै आएको छ ।
इन्ट्री भेरियन्ट नै किन्ने योजना बनाउनेका लागि ५१ लाख ९९ हजार सुरूवाती मूल्य हो । नेपालका जस्तोसुकै बाटोमा अधिकतम १ हजार केजीसम्म सामान बोकेर लान सकिने जी-सेभेन्टमा उपलब्ध अन्य फिचरको कारण एक लाइफ स्टाइल प्रोडक्ट पनि हो ।



