काठमाडौं । बाढी पहिरोका कारण देशभरका ७ वटा सडक पूर्ण रूपमा बन्द भएका छन् ।
नेपाल प्रहरीका अनुसार बिहीबार बिहान १०ः२० बजेसम्म ७ मुख्य राजमार्ग पूर्ण रूपमा बन्द रहेका हुन् । ५ वटा सडक खण्डमा भने अवरोध हटाई एकतर्फी संचालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अविरल वर्षाका कारण संखुवासभाको भोटखोला गाउँपालिका ४, बरुणमा सडक अवरुद्ध हुँदा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । गत जेठ ६ गतेदेखि बन्द यस राजमार्ग अझै संचालनमा आउन सकेको छैन ।
त्यस्तै, रसुवाको गोसाइकुण्ड गाउँपालिकामा पहिरोले सडक र पुल बगाउँदा पासाङ ल्हामु राजमार्ग, सिन्धुपाल्चोकको कोदारीमा पहिरो आउँदा अरिनिको राजमार्ग, बागलुङको दब्ल्याङमा पहिरो आउँदा कालिगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको हो ।
त्यस्तै, रोल्पाको परिवर्तन गाउँपालिकामा पहिरो आउँदा सहिद राजमार्ग र रुकुम पश्चिमको आठबिसकोट रिजिगारमा बाढी आउँदा जाजरकोट-डोल्पा भेरी करिडोर पूर्ण रुपमा बन्द भएको छ ।
बाढीपहिरोका कारण अवरुद्ध काठमाडौं-नुवाकोट, कालिगण्डकी करिडोर, पृथ्वी राजमार्ग र सहिद राजमार्ग भने एकतर्फी रुपमा खुलाइएको प्रहरीले जनाएको छ ।


