एस-०५ र बी-१० एसयूभीमा कुन रोज्दा बढी फाइदा ?

काठमाडौं । अटो शोको मौसम सुरू हुन लागेसँगै एकपछि अर्को नयाँ मोडल बजार प्रवेश गर्दै छन् । यसपटक एक साताको अन्तरमा दुई वटा अटो शो आयोजना हुँदैछ । त्यसैले गाडी बिक्रेताहरू नयाँ मोडल ल्याउन तातेका हुन् ।

नेपाली बजारमा यसअघि एक/एक वटा एसयूभी बिक्री गर्दै आएको दीपल र लीपमोटरले यस पटक नयाँ एसयूभी मोडल थप्दै छन् । दुवै कम्पनीले ल्याउन लागेको नयाँ एसयूभी एउटै साइजमा उपलब्ध हुनेछन् ।

ठ्याक्कै भन्नु पर्दा यी दुई ब्राण्डले नेपाल ल्याएका दुवै मोडल एक अर्काको कडा प्रतिस्पर्धी हुन् । यसअघि बजारमा एकछत्र राज गरेको बीवाइडी एटो-थ्रीको विकल्पमा बिक्री सुरू हुन लागेको दीपल एस-०५ र लीपमोटर बी-१० दुवै नेपाल आइसकेका छन् ।

खासगरी बजारमा एकपछि अर्को नयाँ एसयूभी सार्वजनिक भइरहेको समयमा आएका यी दुवै मोडलले अन्य धेरैसँगै प्रतिस्पर्धा गर्नु पर्ने अवस्था छ ।

साइजमा कुन अगाडि ?

दीपल एस-०५को लम्बाइ ४६२० एमएम, चौडाइ १९०० एमएम र उचाइ १६०० एमएम छ । यसमा २८८० एमएम लामो ह्वीलबेस उपलब्ध छ ।

साइजमा पनि राम्रै प्रतिस्पर्धा गर्ने यी दुई मध्ये लीपमोटर बी-१० को लम्बाइ ४५१५ एमएम, चौडाइ १८८५ एमएम र उचाइ १६५५ एमएम छ । यसमा २७३५ एमएम लामो ह्वीलवेस  पाउन सकिन्छ ।

लम्बाइ, चौडाइ र ह्वीलवेसमा अगाडि दीपल एस-०५ छ । उचाइमा भने बी-१० राम्रै अग्लो देखिन्छ । दुवै क्रसओभर मोडलमा समान १८ इन्चको ह्वील पाउन सकिन्छ ।

मोटर पावर र रेन्ज

मोटर पावरमा प्रष्ट अगाडि लीपमोटर बी-१० देखिएको छ । यसमा १६० किलोवाटको मोटर उपलब्ध छ । जबकि दीपल एस-०५ मा ९९ किलोवाटको मोटर छ । टर्कमा भने एस-०५ अगाडि देखिन्छ । यसको मोटरले ३१० न्युटन मिटर टर्क प्रदान गर्छ । बी-१० को टर्क २४० न्युटन मिटर मात्रै छ ।

पावरमा अगाडि रहेको बी-१० मा ब्याट्री साइज पनि ठूलो छ । यसमा ६७ किलोवाट आवरको एलएफपी ब्याट्री छ । एस-०५ मा भने ५६ किलोवाट आवरको ब्याट्री दिइएको छ ।

कम्पनीले जे जति रेन्ज दाबी गरे पनि बी-१० ले ४५० किलोमिटर र एस-०५ ले ३८० किलोमिटर हाराहारी वास्तविक सडकमा रेन्ज आउने छ ।

टेक र लग्जरी फिचर

दीपल एस-०५ को क्याबिन निकै प्रिमियम लाग्छ । पानारोमिक ग्लास रुफ, लेदर सिट, लेदर र्याप ड्यासबोर्ड, आठ तरिकाले मिलाउन सकिने ड्राइभर सिट, वेलकम सतिहको मेमोरी सिटले ढोका खोल्दै एस-०५ लाई प्रिमियम देखाउने छ ।

भ्यान्टिलेटेड सिट, जिरो ग्राभिटी, थ्री जोन एयर भेन्ट, पीएम २.५ एयर फिटर, हेडअप डिस्प्ले र चालकलाई फलो गर्ने स्क्रीन पाउन सकिन्छ । म्युजिकको लागि १४ वटा स्पिकर उपलब्ध कारमा एडास लेभल टु पाउन सकिन्छ । रिमोट पार्किङ सुविधा र ५४० डिग्री क्यामेराले गाडीको तल्लो भाग पनि देखाउने छ ।

युरोपियन ब्राण्ड स्टेलान्टिसको प्रवेशसँगै आक्रमक बजार विस्तारमा देखिएको लीपमोटरले बी-१० एसयूभीलाई फिचर लोडेड बनाएर ल्याएको छ । टेक्नोलोजीमा पनि कम्पनीले कुनै सम्झौता गरेको छैन । ‘लीप ३.५ आर्किटेक्चर’मा बनेको बी-१० एसयूभीको ककपिटमा क्वालकमको स्न्यापड्रागन ८२९५ चीप प्रयोग भएको छ । इन्टेलिन्ट ड्राइभिङ सिस्टमसहित आउने बी-१० सुरक्षाको हिसाबले पनि अब्बल छ ।

बी-१० एसयूभीमा लेदर सिट, प्रिमियम ड्यासबोर्ड, आरामदायी सिट, ३६० डिग्री क्यामेरा, ८.८ इन्चको इन्स्ट्रुमेन्ट क्लष्टर र १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ ।

मूल्य

दीपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि र लीपमोटरको बिक्रेता साँग्रिला मोटर्स दुवैले आफ्नो उत्पादनको मूल्य घोषणा गरेका छैनन् । मूल्यलाई आधार मानेर नै गाडी किन्नेहरूले निर्णय लिने भएको कारण कसले कति मूल्य राख्छ अहिल्यै अनुमान लगाउन सकिन्छ ।

यी दुई मध्ये एस-०५ मा १०० किलोवाटभन्दा कम क्षमता भएको मोटर छ । त्यसैले यसको राजस्व कम लाग्छ । बी-१० मा १६० किलोवाटको मोटर भएको कारण केही बढी राजस्व तिर्नुपर्छ । तथापि, मूल्य भने दुवैको लगभग उस्तै रहने हाम्रो अनुमान छ ।


Back_to_top